नेपालगन्ज – बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि आयोजित स्लो वाईक प्रतियोगिताको छैठौं संस्करण आइतवार सम्पन्न भएको छ । नेपालगन्जको न्यूरोडमा सम्पन्न छैठौं स्लो बाईक प्रतियोगिता २०८२ को उपाधी शिशिर सुवेदीले हात पार्नुभएको छ ।
सुबेदीले निर्धारित १०० मिटरको दुरी ३ मिनेट ३० सेकेन्डमा पुरा गरी प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । प्रतियोगिताको बिजेता भएसँगै सुवेदीले नगद रु. १५ हजार र प्रमाण पत्र हासिल गर्नुभएको छ । यसैगरी प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः मो. आरिफ सेख ३ मिनेट २५ सेकेण्ड र अजय बर्नवाल ३ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरेका हुन ।
दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. १० हजार, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बास नेपालले आयोजना गरेको कार्यक्रमले देश ब्यापी सन्देस प्रवाह गरेको बताउनुभयो । सवारी दूर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाईक प्रतियोगिताले युवाहरुलाई सचेत र सजग गराउने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माकोे अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालयका इश्वरी देवकोटा, एमएस टे«ड इन्टरनेशनल (हिरो शोरुम) नेपालगन्जका प्रबन्धक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको छ ।
बासको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग जिल्ला ट्राफिक कार्यालय बाँकेले गरेको थियो भने कार्यक्रमको प्रायोजकमा एमएस टे«ड इन्टरनेशनल (हिरो शोरुम) नेपालगन्ज, यज्ञलक्ष्मी अटो डिष्टीब्यूटर होण्डा शोरुम नेपालगन्ज, पाठक भूसेवा केन्द्र, नेपालगन्ज, प्राप्ती इन्टरनेशनल (बजाज स्वरुम) कोहलपुरको सहकार्य रहेको थियो । प्रतियोगितामा ३७ जनाले सहभागिता जनाएका थिए ।
