(Thursday 29th of October 2026)
`

हातेमालो परियोजनाको जानकी २ र ५ मा सुरुवाती कार्यशाला

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    नेपालगन्ज : जानकी गाउँपालिका वडा नं. २ र वडा नं. ५ मा सोमवार सुरुवाती कार्यशाला गोष्ठी शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडीएफ) बाँकेद्वारा सञ्चालित तथा वल्र्ड भिजन नेपालको सहयोगमा ‘हातेमालो परियोजना’ अन्तर्गत सुरुवाती कार्यशाला गोष्ठी सोमवार दुई वटा वडामा सम्पन्न भएको हो । जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षतामा वडा नं. २ मा सुरुवाती कार्यशाला र वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा वडा नं. ५ को वडा कार्यालयमा सुरुवाती कार्यशाला सम्पन्न भएको थियो । कार्यशालामा स्थानीय बाल क्लबका पदाधिकारी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमले परियोजनाको अनुगमन, मूल्यांकन, गुणस्तर सुधार र जवाफदेहितासम्बन्धी प्रक्रिया तथा रणनीतिहरू प्रस्तुत गरेको थियो । एसडीएफका एनसिजी विवेक मलासीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा सामुदायिक विकासमा यसको भूमिकाबारे विस्तृत जानकारी दिनुभयो । उहाँले परियोजनाले ग्रामीण समुदायमा वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन, आर्थिक सशक्तिकरण तथा शैक्षिक सुधारमा योगदान दिने बताउनुभयो । ‘हातेमालो परियोजना’ अन्तर्गत आयोजित कार्यशाला कार्यक्रममार्फत पाँच वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरिएको थियो, जसको मुख्य लक्ष्य बालबालिकाको पोषण, अभिभावकहरूको पालन–पोषणसम्बन्धी क्षमता विकास, बालविकास अनुगमन, खानेपानी तथा सरसफाइमा सुधार ल्याउने रहेको स्पष्ट गरिएको छ ।परियोजनाका प्रोटेक्सन अफिसर जनक चौधरीले कार्यशालाले सामुदायिक सहभागिता र सहकार्यका माध्यमबाट वातावरणमैत्री, शिक्षित र आत्मनिर्भर समाज निर्माण गर्ने साझा लक्ष्य प्रस्तुत गरेको बताउनुभयो ।
    पाँच वर्षे योजनाले पालिकामा १२५० भन्दा बढी बालबालिकालाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यक्रमा बाल–स्पोन्सर कार्यक्रमका गतिविधिहरूसमेत प्रस्तुत गरिएको थियो ।
    सहभागीहरूले सार्वजनिक गरिएको रणनीतिक योजनाबाट जानकी गाउँपालिका क्षेत्रका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । सामाजिक विकास मञ्च एसडीएफले विगतदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार संरक्षण तथा ग्रामीण सशक्तिकरणका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ । वल्र्ड भिजन नेपालको सहयोगमा संचालित हातेमालो परियोजना आगामी पाँच वर्षसम्म समुदायका बालबालिकादेखि अभिभावकसम्मको जीवनस्तर सुधार्न लक्षित गरी अघि बढ्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology