नेपालगन्ज, ०४ असोज – डुडुवा गाउँपालिकामा हालै उत्पन्न विवाद र आन्दोलनको विषयलाई लिएर लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री भण्डारी लाल आहिर र समावादी युवा संघ डुडुवा गाउँपालिका बाँकेले गम्भीर ध्यानाकर्षण गराएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री आहिर र समावादी युवा संघ डुडुवा गाउँपालिका बाँकेले शनिवार विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएका हुन् ।
सांसद आहिरले गाउँपालिका अध्यक्षले आफ्ना अनियमितता र भ्रष्टाचारलाई ढाकछोप गर्न “जेन–जी“ आन्दोलनको नाममा आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
उनका अनुसार, गाउँपालिका कार्यालयको स्थायी वासस्थानमा गरिएको तोडफोड, आगजनी प्रयास तथा सेवामा अवरोधका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् । “गाउँपालिकाका जनतालाई आतंकित बनाउनका लागि अध्यक्षकै निर्देशनमा आफ्ना नजिकका व्यक्तिहरूमार्फत यो अवस्था सिर्जना गरिएको हो,” विज्ञप्तिमा भनिएको छ ।
सांसद आहिरले गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले घटनामा आफू नेतृत्वमा कार्यालय तोडफोड गरिएको भनी लगाइएको आरोपलाई मनगढन्ते र वास्तविकताविपरीत भन्दै खारेज गरेका छन् । “जनताको न्यायोचित मागलाई दबाउन मेरो नाममा आरोप लगाइएको हो,” उनले स्पष्ट पारेका छन् ।
उनले डुडुवा गाउँपालिकामा विकास निर्माणका नाममा भएको व्यापक भ्रष्टाचार, मदिरा दुरुपयोग र अनियमितताले स्थानीय जनता आक्रोशित भएको बताउँदै, आन्दोलन वास्तविक जनआवाजबाट उठेको तर त्यसलाई राजनीतिकरण गरेर आफूलाई दोषी देखाउने षड्यन्त्र भएको बताएका छन् ।
“जनताले उठाएको मुद्दा सत्य हो । गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमितता विरुद्ध म सधैं जनतासँगै छु,” सांसद आहिरको भनाइ छ । उनले गाउँपालिकामा ढाकछोप र मोलमोलाइ नगरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् । यस्तै समाजवादी युवा संघ डुडुवा गाउँपालिकाका अध्यक्ष रियाजुद्दिन खानले गाउँपालिकाको विज्ञप्ति भ्रामक र वास्तविकता विपरीत रहेको उल्लेख गरेका छन् । अध्यक्ष खानले भने, “प्रदेशसभा सदस्य भण्डारीलाल यादवको नेतृत्वमा ३०–३२ जनाको समूहले आगजनी गरेको भन्ने आरोप झूटो र पूर्वाग्रही छ ।” उनले सो घटनामा प्रदेशसभा सदस्यको कुनै संलग्नता नरहेको स्पष्ट गर्दै उक्त आरोप राजनीतिक प्रतिशोधको मात्र उपज भएको बताए । उनले गाउँपालिकाभित्र देखिएका भ्रष्ट्राचार, बेथिति, अनियमितता र सत्ता दुरुपयोगलाई उठाउन आवाज बुलन्द गरिरहने संघको प्रतिबद्धता दोहो¥याउँदै निराधार आरोप फिर्ता लिन माग गरेका छन् । साथै, जनतामा भ्रम फैलाउने गतिविधि नगरी जिम्मेवारीपूर्ण ढंगले काम गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।
