(Thursday 29th of October 2026)
`

विकासको नाममा अनियमितता, स्थानीयले मागे डुडुवा गाउँपालिका अध्यक्षको राजीनामा

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज : डुडुवा गाउँपालिकामा भ्रष्टाचार र अनियमितताले उग्र रूप लिँदै गएको भन्दै स्थानीयाहरू विरोधमा उत्रिएका छन् । जनताको कर र बजेट विकासमा नभई अध्यक्षको विलासिता र पालिकाभित्रै हुने अनैतिक गतिविधिमा खर्च भएको आरोप उनीहरूको छ ।
    देशमा जेनजी आन्दोलन चर्कि रहेको बेला भाद्र २४ गते राति भवनमै अज्ञात समूहले आगजनी प्रयास गरेको थियो । उक्त समूहले पालिकाको लेखाशाखाको केही कागजात जलाएर भागेका थिए ।
    स्थानीयले आगो नियन्त्रणमा लिँदै गर्दा खुलासा भएको अर्को यथार्थले गाउँभर हलचल मच्चायो—कार्यालयभित्रै लाखौँ रुपैयाँ बराबरको मदिरा लुकाएर राखिएको थियो । डुडुवा गाउँपालिकाको भवन विकासको योजनाभन्दा बढी अब अनियमितताको थलोका रूपमा चिनिन थालेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।
    स्थानीहरुले पालिका भित्र नै मदिराको चाङ देखेपछि आक्रोशित हुँदै नेतृत्वमाथि प्रश्न उठाए । “गाउँपालिकाले विकासको नाममा पैसा खर्च गर्छ भन्थ्यौं, तर भवनभित्रै रक्सी देख्दा हाम्रो विश्वास नै चकनाचुर भयो । हामी जनताले आफ्ना समस्या लिएर पालिकाको ढोका ढक्ढक्याउँदा यहाँ भने रक्सी र विलासिता भेटिन्छ । अब जनता मौन बस्दैनन्,” भन्दै डुडुवा–२ का स्थानीय कप्तान पाठक आक्रोश पोख्छन् ।
    “गाउँपालिका अध्यक्षले बैठकको निर्णय अघि नै हामीलाई सादा कागजमा हस्ताक्षर गर्न दबाब दिने गर्थे । यस्तो अराजक शैलीका कारण हामीले पटक–पटक बैठक बहिष्कार गर्नुपरेको छ । अब त अति नै भयो । पालिका अध्यक्षले गर्ने यस्ता गतिविधि एक जनप्रतिनिधिको अनुशासनसँग कतै मेल खाँदैन । यस्तो काम कतिको उचित हो ? हेक्का हुनैपर्छ ।” डुडुवा गाउँपालिकाको कार्यपालिका सदस्य समसुद्दिन सलमानी बताउँछन् ।
    “पालिका सबैको धरोहर हो तर अध्यक्षले यसलाई निजी सम्पत्तिजस्तो बनाएका छन” डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झङ्कबहादुर थापाले भने । कार्यालयभित्रै मदिरा सेवन र अनैतिक गतिविधि हुनु लाजमर्दो हो । डुडुवामा आन्तरिक राजस्व श्रोत प्रशस्त छ तर विकासका काम कागज र भाषणमै सीमित छन् । अध्यक्षको मनोमानीले हामी वडा अध्यक्षहरू जनताको प्रश्नको सामना गर्नै नसक्ने अवस्थामा पुगेका छौँ, वडाअध्यक्ष थापाले बताए ।
    जनताको विश्वास गुमाइसकेपछि नेतृत्वमा बसिरहन कुनै नैतिकता बाँकी नरहेको भन्दै वडअध्यक्ष स्थानीयहरू सबैले गाउँपालिका अध्यक्षको तत्काल राजीनामा मागेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology