शिवेन्द्र भण्डारी – नेपालगञ्ज, श्री पशुपतिनगर सामुदायीक वन उपभोक्ता समूहको १३ औं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । नेपालगञ्ज उप–माहानगरपालिका वडा नम्वर १९ र २० का ५ सय ७२ घरधुरीले प्रत्यक्ष लाभ लिईरहेको सामुदायीक वन, नेपालगञ्ज उप–माहानगरपालिका भित्र रहेको एक मात्र सामुदायीक वन हो । १२ सय ५२ जना महिला र १४ सय ८८ जना पुरुष गरि जम्मा ३०४० जनसंख्या उपभोक्ता रहेको वनको सोमवार नेपालगञ्ज वडा नम्वर २० सम्झना चौक स्थित पशुपति मन्दिर पसिरमा कार्यक्रमको आयोजना गरिएको थियो । वन उपभोक्ता समूहका अध्यक्ष फडीन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज वडा नम्वर २० का वडाध्यक्ष कौशल कुमार धोवी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि धोवीले उप–माहानगरमा रहेको वन पर्यापर्यटनको हिसावले महत्वपूर्ण रहेको,यसलाई प्रवद्र्धन गर्न सके २० नम्वर वडाको स्वरुप नै परिवर्तन हुने र त्यसको लागी सवैको साथ र सहयोग आवश्यक रहेको कुरा बताउनुभयो । बिशिष्ट अतिथि नेपालगञ्ज सव डिभीजन वन कार्यालयका उप–सचिव राज बहादुर चौधरीले सामुदायीक वन उपभोक्ता समूह र उपभोक्ता बिच रहेको बिवादको कारण २ वटा रुखको कटान रहेको बिषयमा प्रष्ट्याउँदै उक्त बिषयमा कसैको पनि नियोजित त्रुटी नभएर कामदारको गलत वुझाईका कारण भएता पनि छानविन हुने कुुरा सभालाई सम्वोधनका क्रममा बताउनुभयो । बिषयलाई थप प्रष्ट्याउँदै सामुदायीक वनका अध्यक्ष बुढाथोकीले नागरिक उड्डयान कार्यालय नेपालगञ्ज, स्थानिय जनप्रतिधि, राजनितिक दलका प्रतिनिधि, डिभीजन वन कार्यालय बाँके ,सव डिभीजन वन कार्यालय राँझा नेपालगञ्ज , वन उपभोक्ता समूह बिच जहाज अवतरणका क्रममा रुखले समस्या भएको भन्ने नागरिक उड्डयान कार्यालयले समस्या देखाए पछी वन कार्यालय र उपभोक्ता समूहले ३४ वटा रुख काटने र २ वटा रुखको हाँगा र टुप्पा काटने भनि कटान आदेश समेत भएकोमा कामदारको गलत बुझाईका कारण १० र ११ नम्वरका दुई वटा रुख कटान भएको त्यसै बिषयलाई लिएर उपभोक्ताहरु केहीले आसंका गरेको पनि बताउनुभयो ।

कार्यक्रममा बार्षिक लेखा प्रतिवेदन फेकोन लुम्विनी प्रदेश सदस्य तथा सहजकर्ता महेन्द्र बहादुर शाहीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो भने प्रगति प्रतिवेदन उपभोक्ता समूहका सचिव महेन्द्र बहादुर चन्दले गर्नुभएको थियो । सभामा वडा नम्वर २० का पूर्व वडाध्यक्ष कृष्ण कार्की, नेपालगञ्ज सव डिभीजन बन कार्यालयका सहायक वन अधिकृत प्रभात कुमार दाहाल ,फेफोकन बाँकेका अध्यक्ष सावित्रा पुन, उपभोक्ता समूहका संस्थापक अध्यक्ष पदम बहादुर अर्याल, उपभोक्ता समूहका पूर्व अध्यक्ष लाल बहादुर थापा र पशुपति मन्दिर ब्यवस्थापनका अध्यक्ष नवराज भण्डारीले आफ्ना भनाई राख्नुभएको थियो भने वडा नम्वर १९ का वडा सदस्यहरु मन्सुर खाँ, अमृता कुमारी सिंह र वडा नम्वर २० वडा सदस्यहरु चक्र बुढा,कल्पना थापा लगाएतको उपस्थिती रहेको थियो ।
