नेपालगन्ज, असार — पूर्व प्रहरी कर्मचारीहरूको एकता, सद्भाव, सहकार्य र मित्रता भन्ने मूल नाराका साथ नेपाल पूर्व प्रहरी संगठन बाँके, नेपालगन्जको ३२ औं संस्थागत वार्षिक उत्सव आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष तथा पूर्व प्रहरी निरीक्षक गंगा बहादुर अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि जोशीले पूर्व प्रहरीहरूले देश र समाजप्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । “पूर्व प्रहरीहरू अन्य नागरिकभन्दा बढी जिम्मेवार हुनुपर्छ । हामीले जहिल्यै पनि शान्ति, सुरक्षा र अमनचयनमा ख्याल गर्नुपर्छ,” प्रजिअ जोशीले भन्नुभयो, “देशको अहित हुने कुनै पनि कार्यमा संलग्न हुनु हुँदैन ।”
उत्सव समारोहमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तिमगर, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद कुमार रिजाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशी, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम थारु लगायत पूर्व प्रहरी संगठन बाँकेका सल्लाहकार, कार्यसमिति सदस्य, आजीवन सदस्य तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
संगठनका अध्यक्ष गंगा बहादुर अधिकारीका अनुसार संगठनमा हाल ५२८ जना आजीवन सदस्य र ४ हजार हाराहारीका सदस्यहरू आवद्ध छन् । उनले संगठनले सदस्यहरूका परिवारलाई आवश्यकतानुसार विभिन्न प्रकारका सहयोग गर्दै आएको जानकारी दिनुभयो । हालैको निर्णयअनुसार संगठनले आफ्ना सदस्यका छोरीहरूको विवाहमा ५० हजार रुपैयाँको अनुदान सहयोग दिने नीतिगत व्यवस्था समेत गरिसकेको छ । कार्यक्रमको सञ्चालन पूर्व प्रहरी निरीक्षक अरुण कुमार सिंहले गर्नुभएको थियो ।



