नेपालगन्ज । मानव वेचविखन तथा ओसारपसार विरुद्ध संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । माइती नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा माइती नेपालले एक बर्षमा जोखिममा रहेका ५ सय ९८ जना महिला बालवालिकाहरुको उद्धार गरिएको जनाएको छ ।
मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् ।
नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्य ४०७ जना फेला परेको जानकारी दिनुभयो ।
माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक कोइरालाले भन्नुभयो, पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको छ, वैदेशिक रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् । सामाजिक सञ्जालसँग जोडिएर चिनजानको आधारमा बङ्गलादेश जान लागेकी युवतीको समेत उद्दार गरिएको छ । उनी इन्स्टाग्राममा चिनजान भई त्यसतर्फ जान लागेको माइती नेपालले जनाएको छ ।
माइती नेपालका अनुसार सन् २००२ यता नौ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेकोमा दुई हजार ३२३ जना मात्रै फेला परेका छन् ।
भारत तथा तेश्रो मुलुकमा रहेका र समस्यामा परेका नेपालीहरुको उद्धारका लागि राज्यस्तरबाट प्रभावकारी संयन्त्र गठन गर्न माइती नेपालले माग गर्दै आएको छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकाको सीमाबाट उद्दार,पारिवारिक पूनर्मिलन,श्रम तथा यौन शोषणमा परेकाको उद्दार लगायतका काम गर्दै आएको जनाएको छ ।
