१३ कार्त्तिक, कोहलपुर । मेची(महाकाली राष्ट्रिय उद्धार यात्राको १६ औं दिन मंगलबार बाँके जिल्लामा ५ जनाको उद्धार भएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा सुरुको भएको हो ।
राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरुबाट ५ जनाको उद्धार भएको छ । जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका( १८ बाट २ जना, कोहलपुर नगरपालिका ११ बाट १ जना, जानकी गाउँपालिका(६ बाट १ जना र बैजनाथ गाउँपालिका – १ बाट १ जना सडकमानवहरुको उद्धार गरिएको हो ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा मंगलबार बाँके आइपुग्दासम्म १३९ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ ।

मेची – महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत उद्धार गरिएका १०६ जना पुरुष र ३३ जना महिलाको सङ्ख्या रहेको छ ।
मंगलबारबार विभिन्न स्थानबाट उद्धार हुनुभएका ५ जनालाई मानवसेवा आश्रम सुर्खेतको वीरेन्द्रनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । उद्धार टोलीले मंगलबार नेपालगञ्ज र कोहलपुर क्षेत्र वरपरका सडकसेवा सम्पन्न गरि यात्रीहरु मंगलबार बेलुका नै सुर्खेत आइपुगेका छन् ।
साथै बुधबार उद्धार टोली सुर्खेत बजार क्षेत्रका सार्वजनिक तथा सडकपेटीमा बेवारिसे अवस्थामा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवा खटिने कार्यक्रम रहेको छ ।
