(Friday 30th of October 2026)
`

कोहलपुरले लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति बनाउने

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज – बाँकेको कोहलपुर नगरपालिकामा स्थानीय सञ्चार नीति निर्माण हुने भएको छ । सञ्चारिका समूह लुम्बिनी प्रदेशले आयोजना गरेको नीति संवाद कार्यक्रममा “लैङ्गिक समानता, अपाङ्गता, र सामाजिक समावेशीकरण“ मुख्य प्रवाहका लागि सरोकारवालाहरूबीच छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय सञ्चार नीति पारित भई कार्यान्वयनमा आए यहाँका सञ्चारमाध्यमलाई सूचना प्रसारण तथा प्रकाशनमा सहजता हुने विश्वास व्यक्त गरिएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले समावेशी सञ्चार नीति निर्माणले कोहलपुर नगरपालिकाको सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउँदै स्थानीय तहका समस्या र उपलब्धिहरूलाई समेट्न सहयोग पुर्याउने बताउनुभएको छ । “सञ्चार नीतिले समावेशी दृष्टिकोणलाई प्रवर्द्धन गर्दै सम्पूर्ण समुदायको आवाजलाई समेट्न मद्दत गर्नेछ । यसले हाम्रो नगरपालिकाको विकासलाई गति दिनेछ, “उहाले भन्नुभयो । नीतिको कार्यान्वयनमा नागरिकहरूको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
    सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले सञ्चार नीतिमा महिलाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । “महिलाको सहभागिताबिना समावेशी सञ्चार माध्यमको कल्पना गर्न सकिन्न । सञ्चार नीतिले महिलाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ,“ उहाँले बताउनुभयो । उहा भन्नुहुन्छ “यस नीतिले महिलाहरूको स्वरलाई मुखर बनाउँदै उनीहरूका अधिकारको प्रत्याभूति गर्न सक्छ ।”
    कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले आफ्ना गुनासा राख्दै सञ्चार क्षेत्रमा महिला पत्रकारहरूलाई अझै चुनौतीहरूको सामना गर्नुपरेको बताउछन् । पत्रकार महिला ममता थापा भन्नुहुन्छ्, “सञ्चार क्षेत्रमा महिला भएर काम गर्नु चुनौतीपूर्ण छ । नीति निर्माणले हाम्रा सुरक्षा, सम्मान र अवसरका विषयमा ध्यान दिनुपर्छ । हामीलाई प्रोत्साहनका साथ सम्मान अवसर प्रदान गरिए मात्र समावेशी सञ्चारको परिकल्पना साकार हुनेछ ।” नगरपालिकाले सञ्चार नीति बनाएर पत्रकार महिलालाई बिशेष स्थान दिन उहाँले सुझाब दिनुभयो ।
    क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरीले पत्रकारिता क्षेत्रमा महिला पत्रकारलाई विशेष प्रोत्साहन दिनुपर्ने कुरामा जोड दिँदै भन्नुभयो, “महिला पत्रकारलाई तालिम र फेलोसिप मात्र होइन, पत्रकारिता अध्ययनमा पनि सघाउन आवश्यक छ । हालका अधिकांश पत्रकारहरू पत्रकारिता शिक्षा बिना नै यो पेशामा आबद्ध भएका छन् । पत्रकारिताको शिक्षा महत्त्वपूर्ण भएकाले यसलाई प्राथमिकता दिनुपर्ने उहाले बताउनुभयो । पत्रकारिता पढ्न चाहने पत्रकार महिलालाई पढनका लागी छात्रवृत्ति उपलब्ध गराउने र पत्रकारिता शिक्षामा प्रोत्साहन दिने कुरा सञ्चार नीतिमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने उहाँले सुझाब समेत दिनुभयो ।


    वरिष्ठ पत्रकार झलक गैरे पनि कार्यक्रममा आफ्ना धारणा राख्नुभएको थियो । गैरेले सञ्चार नीति समावेशी र सशक्त हुनुपर्नेमा जोड दिँदै, “नीति बनाउन र कार्यान्वयन गर्न स्थानीय सरोकारवालाहरूको महत्वपुर्ण भूमिका रहने बताउनुभयो । पत्रकारिता क्षेत्रमा नया पुस्तालाई प्रोत्साहन गर्न सञ्चार नीति निमार्ण हुन आवश्यक रहेको उहा बताउनुहुन्छ ।
    कार्यक्रमको प्रस्तुति पत्रकार शंकर प्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबै सहभागीहरूको सक्रियता र सुझावले कोहलपुरको सञ्चार नीति निर्माण प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । समावेशीकरण र समानता प्रवर्द्धन गर्ने यस प्रयासले स्थानीय सञ्चार माध्यमलाई सशक्त बनाउँदै समुदायको आवश्यकतामा आधारित सूचना र समाचार प्रवाहमा सुधार ल्याउनेछ । कोहलपुर नगरपालिकाको यो कदमले पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा मजबुत बनाउन र समग्र सञ्चारकर्मीहरूको विकासमा योगदान पुर्याउने छ । आगामी दिनहरूमा यस नीतिको कार्यान्वयनले सञ्चार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology