(Saturday 25th of July 2026)
`

मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

  • सगरमाथा गन्तब्य
  • 4.5K
    SHARES

    नेपालगन्ज, असोज ३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा बुधवार बेलुकी भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
    दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका नेपाल राष्ट्रिय मावि धामपुरमा कार्यरत शिक्षक अजय थारुको पनि मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
    सोही दुर्घटनामा परेर यसअघि बुधवार बेलुकी भे १२ प ३१९५ नम्बरको मोटरसाइकल चालक राप्तीसोनारी –४ बैजापुरका रामशरण थारुको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । भे १२ प ४८२८ नम्बरको मोटरसाइकल चालक राप्तीसोनारी –३ खैरेनीका वसन्त थारुको उपचारका क्रममा मृत्यु भएको थियो ।
    सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँहरूको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले जनाएको छ ।
    इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक भद्रसिंह वलिका अनुसार ठोक्किएको मोटरसाइकल पछाडि बसेका राप्तीसोनारी –३ खैरेनीका सञ्जय थारु र सङ्गिन थारुको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
    प्रहरी नायब निरीक्षक वलीले पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको भे १२ प ३१९५ नम्बरको यामाहा मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १२ प ४८२८ नम्बरको होण्डा मोटरसाइकल लठ्ठापुर चोकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको बताउनुभयो ।
    उहाँका अनुसार सो दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनामध्ये दुवै मोटरसाइकलका चालक राप्तीसोनारी –४ बैजापुरका रामशरण थारु र राप्तीसोनारी –३ खैरेनीका वसन्त थारुको बुधवार बेलुका मृत्यु भएको थियो । धामपुरका अजय थारुको बुधवार राति अबेर मृत्यु भएको थियो ।
    दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा तीव्र गतिका कारण दुर्घटना भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology