नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेले शुक्रवार नेपालगन्जमा पदभार तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । गत साउन ३२ गते थाकस बाँकेको ११ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पदभार तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा अधिवक्ता समेत रहनुभएका राधेश्याम थारुले नेपालमा ६.६ प्रतिशत थारु समुदायको बसोबास छ तर हामी हामी विच एकरुपता नभएको कारण हामी पछि पर्दै गएको उहाँले बताउनुभयो । हामी थारू समुदाय एक ढिक्क हुन जरूरी छ उहाँले भन्नुभयो । अघिपछि नभई हामी सदैब एकरूपता हुन आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो । थारू समुदायको लागि अन्य समुदायले केही नगर्ने भएको हुनाले हामी आफनो हक अधिकारका निम्ती आफै जागरूक हुन जरूरी रहेको अधिवक्ता थारुले बताउनुभयो ।
यस्तै थाकस बाँकेका निवर्तमान अध्यक्ष विनोद थारुले आफ्नो एजेण्डा नछोडेर राजनिती गर्न थारू अगुवाहरूलाई आग्रह गर्नुभयो । यदि विचार र एजेण्डा छोडियो भने राजनीतिमा थारु राजनितीकर्मी कहिल्यै सफल हुन नसक्ने थारुले दावी गर्नुभयो । थारुले साझा एजेण्डालाई प्राथामिकतामा राखेर जानुपर्ने उहाँले धारणा राख्नुभयो । सबैको विचार आ आफ्नो हुन्छ तर हामी थारू समुदायका सवैजना एकढिक्क हुन आवश्यक रहेको छ उहाँले भन्नुभयो । २०७२ सालमा टिकापुर घटना भयो तर पनि थारु समुदायका कैयो युवाहरु अझै थुना मै छन् यसको लागि हामीले देशव्यापी रुपमा आवाज उठाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ९ बर्ष वितिसक्दा पनि यसको निचोड निकाल्न नसक्नु राज्यको कमजोरी रहेको थारु अगुवाहरुको गुनासो रहेको छ ।
यस्तै शुक्रवार नै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पदभार ग्रहण गराईएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी थाकस बाँकेका सभापति संगीता चौधरी, उपाध्यक्ष बनिलाल थारु, परिना थारु र उषा चौधरी, सचिव विष्णु कुमारी चौधरी, सहसचिव परशुनारायण थारु, कोषाध्यक्ष मनोज कुमार थारु, सदस्यहरु कालू राम थारू, भिख्खु थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी चौधरी, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु, प्रदेशराम थारुलाई निर्वाचन अधिकृत राधेश्याम थारुले प्रमाणपत्र सहित पदभार ग्रहण गराउनुभएको छ ।
अधिवेशनबाट ८ जना पार्षद चयन गरिएको थियो जसमा नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु, चन्द्र बहादुर चौधरीलाई पनि प्रमाणपत्र वितरण गरिएको थाकस बाँकेका सचिव विष्णु कुमारी चौधरीले जानकारी गराउनुभयो ।
