(Friday 30th of October 2026)
`

६० हजार बढी नागरिक जोगाउन स्थानियवासीको माग

  • सगरमाथा गन्तब्य
  • 4.8K
    SHARES

    नेपालगन्ज : बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
    आज उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुग्नुभएका सङ्घीय सांसद सूर्य ढकालसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यस वर्ष तटबन्ध निर्माण नभए ठूलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गरेका थिए । तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको नरैनापुर गाउँपालिकाका ६ का स्थानियवासी सोहनलाल यादवले बताउनुभयो । समयमा राज्य सचेत भएन भने ठुलो जनधनको क्षति व्यहोर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
    विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ”, यादवले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।” दुई वर्षदेखि निरन्तर तटबन्धको माग गर्दै आए पनि निर्माण कार्यमा कसैले चासो नदिएको राप्तीसोनारी गाउँपालिका –७ का अगुवा दुर्गा प्रसाद पाण्डेले बताउनुभयो । राप्तीको बाढिले झन झन गाउँ तिर कटान गर्र्दै आएको छ यसको तत्काल पहल गरिएन भने कयौको संख्यामा ज्यान जान सकिने पाण्डेले बताउनुभयो ।
    उहाँका अनुसार पछिल्लो समय राप्ती नदीमा बाढी बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार भारी वर्षा हुनासाथ राप्ती नदीको बाढी गाउँ पस्ने खतरा बढ्दै गएको छ । आफ्नो क्षेत्रमा रहेको डुबानका समस्याबारे स्थलगत अवलोकनमा पुग्नुभएका बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेको बताउनुभयो । खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । “अहिले ठूलो वर्षा भएकाले नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको छ”, संघिय सांसद ढकालले भन्नुभयो, “नदीले तीव्र रुपमा कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु उहाँले भन्नुभयो ।”


    तटबन्धन निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गंगापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् । राप्ती र नरैनापुरका ६० हजार बढि बासिन्दा बाढीको उच्च जोखिममा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology