(Friday 30th of October 2026)
`

राप्ती नदिमा आएको बाढीले खतराको चिन्ह पार गर्यो, नदि आसपासका बस्तीलाई सतर्क हुन आग्रह

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज ः अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ । बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ४ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर ४२ सेन्टिमिटर पुगेको छ ।
    कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर (खतराको चिन्ह) पुगेपछि राप्तीको तल्लो तटीय क्षेत्रमा डुबान हुने जोखिम हुन्छ । इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज दोर्ण खड्काले दिएको जानकारी अनुसार शनिबार दिउँसो ४ः३० बजेको रेकर्ड अनुसार नदीको सतह ७ मिटर ४२ सेन्टिमिटर पुगेको हो । ‘बाढी अझै बढ्दो क्रममा छ, अहिले पनि हामी नदी किनारमै छौ,’ उनले नागरिकसँग भने ।
    राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘राप्तीमा पानीको सतह क्रमिक रूपले बढिरहेको छ, उद्धारमा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेका छौँ,’ उनले भने ।
    सिक्टा सिचाई आयोजनाको अगैयास्थित ब्यारेजका ढोका आवश्यकता अनुसार खोल्न लगाएको बताए । लक्ष्मणपुर बाँधका ढोका भने भारतले खोले÷नखोलेको बारे अहिलेसम्म कुनै जानकारीमा नआएको प्रजिअ रिजालले सुनाए । राप्तीको बाढी बढेपछि सिक्टा सिचाई आयोजनाको ब्यारेजका ढोका पनि क्रमशः खोलिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए । सिक्टाका कुल १८ वटा ढोका मध्ये शनिबार दिउँसो १ः३० बजेसम्म १३ वटा ढोका खोलिएको उनले जानकारी दिए ।


    बाढी आएपछि राप्ती नदीको तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् । कुसुमबाट राप्तीको तल्लो तटीय क्षेत्रसम्म बाढी आई पुग्न करिब ५ देखी ६ घण्टा जति समय लाग्ने बताइन् । राप्तीको तल्लो तटीय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, नरैनापुरको गङ्गापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया गाउँहरू डुबानमा पर्छन् । भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत सिमा क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँध जस्तो सडकका कारण वर्षेनी नेपाली भूमि डुबानमा पर्ने गरेका छन् ।
    कुसुममा पस्यो बाढी
    राप्तीको बाढी बाँकेको कुसुमस्थित गाउँहरूमा पस्न सुरु गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत गर्ने कुसुमस्थित बाघ खोर गाउँमा बाढी पसेको हो । स्थानीय खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा राप्तीको बाढी पसेको स्थानीय माधव रावतले जानकारी दिए ।
    यस्तै स्थानीय राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर पनि डुबानको जोखिममा परेको उनले बताए। राप्ती सोनारी–१ अन्तर्गत पर्ने कुसुमका अन्य विभिन्न गाउँहरू पनि डुबानको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology