जनक चौधरी – बर्दिया -एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको सहयोगमा सञ्चालित नेपालमा कृषिमा आधारित मधुवा श्रम अन्त्य परियोजनाको जिल्ला स्तरीय सिकाई आदानप्रदान कार्यक्रम शुक्रवार गुलरियामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम लुम्बिनी प्रदेश सभाका माननीय राजकुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले आफ्नो पालिकामा भएको मुक्त कमैयाहरूको लगत संकलन कार्य गरिरहेको र पालिकाले मुक्त कमैया सम्बन्धी कार्यविधि पास गरी आउँदो वर्षमा बजेट विनियोजन गरेर भएपनि मुक्त कमैया समस्या समाधान गर्ने बताउनुभएको छ । अब मुक्त कमैया समस्या समाधानको लागि प्रदेश सरकार र संघिय सरकारको मुख नताक्ने बताउनुभएको छ ।
त्यस्तै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले पनि आफ्नो गाउँपालिकामा पनि लगत संकलन गर्दै गरेको जानकारी गराउनुभएको छ । अब स्थानीय सरकारले आफ्नो पालिकामा रहेका मुक्त कमैया सुकुम्बासी लगायतका थुप्रै समस्या समाधान गर्नका लागि पालिका अब पछि नहट्ने बताउनुभएको छ ।
त्यसैगरी कार्यक्रममा बोल्ने क्रममा लुम्बिनी प्रदेश सभाका पूर्व उपसभामुख किस्नी थारुले मुक्त कमैया र सुकुम्बासीको समस्या अझै पनि जिउकातिउ रहेकोले स्थानीय सरकारले अनुगमन गरी समस्या पत्ता लगाई समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको छ । सरकारले जहिले पनि मुक्त कमैया सुकुम्बासीका लगायतका थुप्रै खाले समस्या भएपनि स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारले कमैयाको समस्यालाई प्राथमिकतामा पार्न नसकेको गुनासो गर्नुभएको छ ।
कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेश कुमार श्रेष्ठले यो एउटा अधिकारमा आधारित परियोजना भएकोले परियोजना सफल भएको बताउनुभएको छ । परियोजनाबाट समुदायका धेरै व्यक्तिहरूले उपलब्धि हासिल गरेको पनि बताउनुभएको छ । बोल्ने क्रममा अध्यक्ष श्रेष्ठले आफू नमरुन्जेलसम्म मुक्तकमैया सुकुम्बासी लगायत विभिन्न समुदायको अधिकारको लागि नेतृत्व गर्ने बताउनुभयो । विगतमा पनि कन्द्रा आन्दोलनदेखि लिएर अधिकारमुखी अभियानहरूमा आफू लागि परेको र आउँदा दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो यस्तै आफूहरू संघसंस्थाहरूले विभिन्न समुदायको अधिकारका निमित्त काम गरेता पनि प्रयाप्त मात्रामा काम गर्न नसकेको समेत बताउनुभयो । पूर्ण रुपमा यो समस्या समाधान गर्नका निम्ति स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार को प्राथमिकता पार्नुपर्ने बताउनुभएको छ ।

उक्त कार्यक्रममा कमैया महिला जागरण समाज नेपालका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले परियोजनाले अहिलेसम्म गरेको क्रियाकलापको बारेमा यसको उपलब्धि र चुनौतीको बारेमा प्रस्तुति गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाले गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नागरिक समाज सञ्जाल बर्दियाका सचिव भूमिराज लामिछाने, त्यसैगरी बढैयाताल गाउँपालिकाका वार्ड नं ९ का अध्यक्ष वीरबहादुर यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र यस्ता खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई बढैयाताल गाउँपालिका स्तरीय मुक्त कमैया समाज का अध्यक्ष फुलाराम थारुले स्वागत गर्नुभएको थियो । भने कार्यक्रमको अध्यक्षता मुक्तकमैया समाज नेपालका अध्यक्ष बिस्नी थारुले गर्नुभएको थियो । यस्तै कार्यक्रम सञ्चालन कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले गर्नुभएको थियो । उक्त कार्यक्रममा मुक्त कमैया समाजका अगुवाहरू नागरिक समाज विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष जनक चौधरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष यादव आचार्य लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
