नेपालगन्ज : प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसमा बिभिन्न कार्यक्रम गरेर मनाएको छ । २६ औ स्थापना दिवशमा प्रेस चौतारी बाँके शाखाले मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेर मनाएको हो । प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा सहभागी जनप्रतिनिधिले स्थानीय सञ्चारमाध्यमको दिगोपनाको लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउनुभयो । जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माणलगायतका गतिविधि प्रभावकारी हुने उहाँले उल्लेख गर्दै स्थानीय तह र सञ्चार माध्यमबिच समदूरीको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विकास निर्माणलगायत विभिन्न जनसरोकारका विषयमा सञ्चार माध्यमसँग सहकार्य गरी जानेगरेको बताउनुभयो ।

नगर प्रमुख विष्टले भन्नुभयो, ‘सञ्चार माध्यमले उपमहानगरभित्रका गलत काम पनि जनतासमक्ष ल्याउन जरुरी छ ।’ उहाँले वास्तविकता आम जनतामाझ ल्याउन सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले विकास निर्माणमा हुनेगरेका ढिलाइ लगायतका विषयमा सञ्चार माध्यमले महत्त्वपूर्ण साथ दिनेगरेको बताउनुभयो ।

कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेलले नयाँ मिडिया र प्रविधिको विकाससँगै स्थानीय सञ्चारमाध्यम धराशायी बन्दै गएको उल्लेख गर्दै यसको प्रवद्र्धनको लागि स्थानीय र प्रदेश सरकारले विशेष योजनाका साथ मिडियामैत्री कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाई, प्रेस चौतारी केन्द्रीय सचिव सुष्मा पौडेल, केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल,प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायतले स्थानीय सञ्चार माध्यमको अवस्था र स्थानीय सरकारको भूमिकाका वारेमा बोल्नु भएको थियो ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा रेशम विरही पत्रकारिता पुरस्कारबाट नेपालगन्जका अग्रज पत्रकार झलक गैरे र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट क्रियाशिल पत्रकार सरला सुवेदीलाई सम्मान गरिएको छ ।
यसैगरी प्रेस चौतारी कोहलपुर शाखाले चौतारी स्थापना दिवसको अवसरमा दुर्गाबहादुर बेल्वासे स्मृति पुरस्कारबाट बैकुण्ठ अधिकारी र क्रियाशिल पत्रकार पुरस्कारबाट पवित्रा परियारलाई पुरस्कृत गरेको सचिव रबि रोकायले जानकारी दिनुभयो ।
