नेपालगन्ज । नेपालगन्जमा रातो प्लेटका ई–रिक्सा ब्यवस्थापनको कार्यलाई कडाई गरिएको छ । उपमाहानगरपालिकाले पहिलो पटक दिएको म्याद (मंसिर १५) सकिएसँगै प्रशासनले रातो नम्बर प्लेटका इ–रिक्सा धमाधम नियन्त्रणमा लिन थालेको हो ।
रातो नम्बर प्लेट टाँसेर सवारी बोक्ने १३२ इ–रिक्सा नियन्त्रणमा लिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । उहाँले नियन्त्रणमा लिइएको इ–रिक्साहरुलाई कालो नम्बर प्लेट लिन प्रोत्साहन गरिएको जनाउनुभयो । सरकारी अभिलेखमा दर्ता नगरि आफु खुसी कालो प्लेट टाँसेर सवारी बोकिरहेका इ रिक्सालाई पनि प्रशासनले नियन्त्रण लिएको उहाँले बताउनुभयो । नियन्त्रणमा रहेका इ–रिक्साहरुलाई भाडाको सवारी (कालो प्लेट) बनाउन प्रोत्साहन गरिएको जानकारी दिनुभयो । प्रमाण र प्रकृया पूरा भएकाहरुले उपमहानगरमा सम्पर्क गर्न पनि प्रजिअ पोखरेलले आग्रह गर्नुभएको छ ।
नेपालगन्ज उपमहानगरले मंसिर २३ गतेदेखि नगरक्षेत्रमा रातो नम्बर प्लेट भएका इ–रिक्साहरु चल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन मंसिर १५ गते दिने निर्णय गरेको थियो । मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
नीति÷नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबाहक इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको उपमहानगर प्रमुख विष्टले बताउनुभयो । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ–रिक्सालाई गुड्न नदिइने उहाँले बताउनुभयो । अटेर गरेर रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोके त्यस्ता इरिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी ब्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिंग गरेर राखिने जनाइएको छ ।

