नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाको समस्या समाधानका लागि आफ्नो तहमा पहल गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ । राप्तीसोनारी गाउँपालिकाको माछेवास–धामपुर जोड्ने ५५४.४५ मिटर लामो राप्ती नदी पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसंख्या र ठूलो भुगोल भएको गाउँपालिका भएपनि विकासको मूल प्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै आफ्नो तहबाट यसको उत्थानका लागि पहल गरिने विश्वास दिलाउनुभयो ।
‘यहाँका स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रतिनिधिहरुले यहाँको समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ उहाँले भन्नुभयो –‘मेरो तहबाट समस्या समाधानका लागि गर्नुपर्ने सहयोग सबै हुन्छ ।’ उहाँले राप्तीसोनारी गाउँपालिकालाई राप्तीनदीले क्षती पु¥याएपनि स्रोतको हिसावले निकै धनी रहेको औल्याउनुभयो । सम्भावना भएर पनि विकास निर्माणका सवालमा पालिकामा थुप्रै कामहरु गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । ‘यहाँ ठूलो वनजंगल छ । अन्य प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ । यसको सदुपयोग गरेर पालिकालाई सम्बृद्ध बनाउन सकिन्छ’ उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिकामा सल्यान र दंगालीहरुको समेत बसोबास रहेकोले आफ्नो स्वभाविक भावना जोडिएको उहाँले बताउनुभयो । उहाँले राप्तीसोनारीसँग भावनात्मक सम्वन्ध जोडिएकाले पनि विकास निर्माणका सवालमा आफ्नो तर्फबाट हुने पहलमा कुनै कमी नहुने बताउनुभयो ।
यस्तै बाँके क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्तीसोनारीको विकास र सम्बृद्धिका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले राप्ती नदीको कटान, सडक निर्माण लगायतका सवालमा मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले अहिलेको परिस्थिति विकास निर्माणका लागि अनुकूल रहेको पनि उल्लेख गर्नुभयो । ‘यो निर्वाचन क्षेत्रबाट मलाई चुनाव जिताउनु, र यो क्षेत्रसँग भावानात्मक सम्वन्ध भएका ज्वाला मन्त्री हुनु यहाँको विकास निर्माणका लागि कोशेढुंगा सावित हुनेछ’ उहाँले भन्नुभयो । उहाँले राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन केही योजनामा बजेट विनियोजन गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो । उहाँले मटेहिया देखि वेतनीसम्म पुल निर्माणका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।
यस्तै लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले पनि विकास निर्माणमा सहयोग गर्न मन्त्री ज्वालाको ध्यानाकर्षण गराइन् । हुलाकी राजमार्ग अन्तर्गत अगैयादेखि कुसुम सडक खण्डको निर्माणमा तीब्रता दिन उहाँले आग्रह गर्नुभयो । बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुको जोखिम बढेकाले पूर्वपश्चिम राजमार्गको विकल्पमा बैकल्पिक राजमार्ग निर्माणलाई तीब्रता दिनु पर्ने उहाँको भनाइ थियो ।
उहाँले राप्तीनदीको सिधनिया घाटमा पुल निर्माणलाई गतिदिन आग्रह गर्नुभयो । तत्कालीन पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले उक्त पुलको शिलान्यास गर्नुभएको थियो । तर अहिले उक्त पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । त्यहाँको अवस्था र आवश्यकताका आधारमा पुल निर्माण गरिनुपर्ने उहाँको भनाइ छ । ’अहिले त्यहाँ ७ सय मिटरको पुल निर्माणको लागि डिजाइन भएको छ । तर त्यहाँ ११ सय मिटर लम्वाई भएको पुलको आवश्यकता छ उहाँले भन्नुभयो ’यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।’
यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुगोल र जनसंख्याको हिसावले सबैभन्दा ठूलो गाउँपालिका भएपनि संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग नगरेको बताउनुभयो । उहाँले विकास निर्माणका दृष्टिकोणले पालिका पिछडिएको भन्दै पुलपुलेसा र सडक निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो –‘यदी मुगुवा खोलाको पुल मात्र बन्न सक्यो भने पश्चिमका वडा नं. ८ र ९ लाई जोड्न सकिन्छ । कचनापुर कम्दी सडकलाई निर्माण गर्न सकियो भने नेपालगन्जसँगको दूरी घट्छ । यसतर्फ केन्द्र सरकारले सहयोग गरोस् ।’ उहाँले मुगुवा खोलामा पुल नबन्दा बर्खायाममा विद्यार्थी बालबालिकाले ठूलो सास्ती खेप्नु परेको उल्लेख गर्नुभयो । यस्तै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न समस्या परेको उहाँको भनाइ छ । उहाँले यातायातसँगको सहज पहुँचका हुलाकी सडक निर्माणलाई गति दिन पनि आग्रह गर्नुभयो । माछेवास–धामपुर जोड्ने राप्ती पुल ९० करोड लागतमा बनेको पुलमा ७४ करोड खर्च भएको छ ।
