नेपालगन्ज । सशस्त्र प्रहरीका गोपी चन्द पार्की धारा नेपालगन्ज म्याराथन २०८० को बिजेता हुनुभएको छ । नेपालगन्जमा शनिबार भएको ४१.१९५ किमि पुरूषतर्फ पार्की बिजेता बन्न सफल हुनुभएको हो । पुरूषतर्फ नेपाली सेनाका खडक बहादुर खडका दोस्रो र सशस्त्रका किरण सिंह बोगटी तेस्रो स्थानको बिजेता बन्न सफल हुनुभएको छ । म्याराथन विजेताले दुई लाख रुपैया पाएका छन् ।
दोस्रो स्थानका लागि एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौ र आठौलाई ५÷५ हजार पुरस्कार पाएका छन् । यस्तै २१ किमि हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ बिजेता बन्न सफल हुनुभएको छ । सन्तोषीले यो जीतसंगै हाफ म्याराथनमा ह्याट्रिक गर्नुभयो । हाफ म्याराथनमै फूलमति राना दोस्रो, पुष्पा भण्डारी तेस्रो बन्न सफल हुनुभएको छ । प्रथम भएसंगै सन्तोषीले ७५ हजार पुरस्कार पाउनुभयो भने दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार, चौथो हुनेले १५ हजार, पाँचौ हुनेले १० हजार, छैठौ, सातौ र आठौ हुनेले ५÷५ हजार पुरस्कार पाएका छन् ।

यस्तै ५ किलोमिटर ह्वील चियर दौडमा यज्ञ बहादुर खत्री प्रथम हुनुभएको छ । रोहित कुमार तमोली दोस्रो र शम्शेर अलि बेहना तेस्रो हुन सफल हुनुभएको छ । नेपालगन्जमा रहेको मिलाप संस्थाले नेतृत्व गरेर ह्वील चियर टिम सहभागी भएको हो । प्रतियोगिताको उद्घाटन शत्रमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र महानायक राजेश हमालले मन्तब्य राख्नुभएको थियो । प्रतियोगितामा सहभागी हुन नायिका सुरक्षा पन्त पनि नेपालगन्ज आउनुभएको थियो । आयोजकका अनुसार म्याराथनमा २८ जना धावकले नाम दर्ता गराएकोमा १८ जनाले टर्निङ प्वाइन्ट क्रस गरेका छन् । यस्तै हाफ म्याराथन (महिला) मा २० जनाले नाम दर्ता गराएकोमा ७ जनाले टर्निङ प्वाइन्ट क्रस गरेको आयोजकले जनाएको छ ।

