नेपालगन्ज : शान्ति, सद्भाव र एकताः राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नवौं धारा नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । नवौं धारा नेपालगन्ज म्याराथन तथा नेपालगन्ज कनक्लेभ–२०२३ को तयारी पूरा भएको आयोजक टिमले बिहीवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । यस वर्षको म्याराथनमा पुरस्कार राशी वृद्धि गरिएको छ, भने उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने छ । धारा नेपालगन्ज म्याराथन र नेपाल रन युकेबीच नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एक जना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने समझदारी भएको छ । लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो ।
यस बर्ष नगद पुरस्कार राशीमा वृद्धि गरिएको घोषणा भइसकेको छ । नवौं धारा नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौँले समान ५÷५ हजारबाट पुरस्कृत हुनेछन् । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिनेछ ।
हाफ म्याराथन (महिला) मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौँ, सातौं र आठौंलाई समान ५÷५ हजार नगदले पुरस्कृत हुनेछन् । त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।
यस्तै क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना हुने आयोजकले जनाएको छ । नेपालगन्ज कनक्लेभको निर्देशक जनक नेपाल (सम्पादक, शिलापत्र) हुन भने यसमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरसँग सहकार्य गरिएको छ । नेपालगन्ज कनक्लेभको टाइटल स्पोन्सर नेपाल टेलिकमः राष्ट्रको सञ्चार रहेको छ भने हिमालयन बैंक लिमिटेडले महत्वपूर्ण सहकार्य गरेको छ । मेरो प्लानेटको हलमा हुने कनक्लेभ ८ मंसिर विहान बिहान ८ः३० देखि वेलुकी ५ बजेसम्म चल्नेछ ।
