जानकी (बाँके), १५ असोजः बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि टाईमकार्ड लागू गरिएको छ । निकुञ्ज क्षेत्रमा वन्यजन्तुका साथै सवारी साधन दुर्घटना न्युनिकरणका लागि सोमबारदेखि टाईमकार्ड लागू गरिएको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बताउनुभयो ।
‘निकुञ्ज क्षेत्रभित्र सवारी साधन दुर्घटना हुनुका साथै सवारी साधनबाट वन्यजन्तुको सुरक्षा उच्च जोखिममा परेको हुनाले टाईमकार्डको व्यवस्था गरिएको हो ।’ उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाईमकार्ड लागू गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी भुसालले बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं. ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो पोइन्ट (खैरी चेक पोष्ट) सम्म टाईमकार्ड लागू गरिएको बताउनुभयो ।
सूचना अधिकारी भुसालका अनुसार निकुञ्ज क्षेत्रमा सवारी साधान र वन्यजन्तु सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानिय, नागरिक समाज, व्यवसायी लगाएत सम्बन्धित पक्षले टाईमकार्डको व्यवस्था लागू गर्न सुझाव दिए अनुसार नै टाईमकार्ड लागू गरिएको हो ।
आजदेखि लागू हुने गरी गरिएको टाईमकार्डको व्यवस्थापनमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरी लगाएत सम्बन्धित पक्षधरहरुको उपस्थित रहेको थियो । विसं २०६७ सालमा बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्र समेटेर नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रुपमा रहेको छ । उक्त निकुञ्ज बर्दिया, दांग र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ ।
