नेपालगन्ज १० भाद्र : एमाले बाँकेका अध्यक्ष समेत रहेका खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति माथि बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले अभद्र टिप्पणी गर्नुभएको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष प्रयोग गर्ने आधिकारिक नम्बर ९८५८०६०११५ मा एमाले पार्टीका पोलिटब्यूरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज खेममान खड्काले फोन गर्दा पालिका अध्यक्ष विकले अभद्र टिप्पणी गर्नुभएको हो । एमाले बाँके प्रचार विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर खजुरा गाउँपालिका अध्यक्ष विकले पार्टी पोलिटब्यूरो सदस्य खड्का तथा जिल्ला अध्यक्ष कक्षपतिप्रति अभद्र टिप्पणी गरेको भन्दै खेद व्यक्त गरेको छ । पार्टी प्रवक्ता सतिश निरौलाले पालिका अध्यक्ष विकको दुव्र्यवहारपूर्ण अभिव्यक्ति विरुद्ध कानुनी कारवाहीमा जाने बताउनुभएको छ । एमाले बाँके अध्यक्ष कक्षपतिले पालिकाका अध्यक्ष हुँदा प्रयोग गर्दै आएको नम्बरमा आफुलाई खोजेर अन्यले पनि फोन गरेको हुनसक्ने र उनीहरुलाई समेत नकारात्मक ढंगले प्रस्तुत भएको हुनसक्ने आशंका गर्नुभयो । ‘जुनसुकै राजनीतिक आस्थाको भएपनि खजुराको विकासमा हातेमाले गरेर अगाडि बढ्नु पर्छ भन्ने हाम्रो सोंच हो, त्यसका लागि पालिका अध्यक्षले वातावरण तयार गर्नुपर्ने हो, तर यहाँ ठिक उल्टो भैरहेको छ’, उहाँले भन्नुभयो ।
एमाले पार्टीका पोलिटब्यूरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज कमरेड खेममान खड्काले जनप्रतिनिधि जस्तो मान्छेको बोल्ने शैलीले उनी त्यो पदको सम्मान गर्न सक्ने व्यक्ति होइन भन्ने स्पष्ट भएको बताउनुभयो । उहाँले विकसँगको कुराकानीको केही अंश मात्रै आफुले रेकर्ड गरेको बताउनुभयो । ‘बोल्दाबोल्दै अभद्र रुपमा प्रस्तुत भएपछि मोबाइल कुराकानी रेकर्ड गरेको हुँ’, उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा कुराकानीको रेकर्ड समेत सुनाइएको थियो, त्यसमा उल्लेख छ
खड्का : हजुर !
अध्यक्ष विक : तपाई को ?
खड्का : नाई नाई मैले त किस्मतलाई खोजेको हो ।
अध्यक्ष विक : किस्मत त मरेर अस्ती मट्टि दि सके ।
खड्का : ठिकै छ तपाईले त्यो भाषा प्रयोग गरेपनि
अध्यक्ष विक : तपाई को हो भन्नु न ? अर्काको फोनलाई किस्मत भनेर गर्ने । को हो तपाई ?
खड्का : ठिकै छ कहिलेकाहीँ त मिस्टेक हुन्छ नि त
अध्यक्ष विक : अरे राख्नु न यार फोन
खड्का : तपाई राखे हुन्छ नि त, तपाईले राखे हुन्छ नि त
अध्यक्ष विक : तैले राख्न बे तैले गरेको होस्
खड्का : गर्न न गरेको हो मैले
अध्यक्ष विक : साला किस्मतको चोर
खड्का : मैले गर्दैमा
‘गाउँपालिका अध्यक्ष पद सार्वजनिक हो । आम नागरिकसँग सम्पर्क र समन्वय गर्नुपर्ने जिम्मेवारी पनि हो । साथै, पालिकाको सम्पती पदमा आसिन व्यक्तिले प्रयोग र हस्तान्तरण गर्नुपर्ने पद्दती र दायित्व हो । यसलाई अध्यक्ष विकले आफ्नो व्यक्तिगत सम्पती र प्रयोग जस्तो व्यवहार गर्नु जनमतलाई अपहेलना गर्नु र पदमा बसीरहन अशोभनीय हो । पार्टी नेता खड्का र आम व्यक्तिले अध्यक्ष कक्षपतिसँग विगत यो नम्बरमा सम्पर्क गर्दा व्यक्तिगत वा कार्यालयको भनि जानकारी लिनुपर्ने बाध्यकारी अवस्था होइन । यसका साथै कुनै सार्वजनिक पदमा आसिन व्यक्तिले प्रयोग गर्ने फोन वा अन्य साधन व्यक्तिको हो वा कार्यालयको हो भनी आम नागरिकले बुझीराख्नुपर्ने बाध्यकारी पनि होइन’, एमाले प्रचार विभाग प्रमुख सतिश निरौलाले भन्नुभयो , ‘नेता खड्काले शिष्ट, मर्यादित भाषामा संबाद गर्दागर्दै पनि अध्यक्ष विकले निच, तुच्छ र गैर जिम्मेवारी पूर्ण व्यवहार र भाषा प्रयोग गरी हाम्रा अध्यक्षलाई गाली गलौच गरेको संबाद अभिलेखमा छ । घटनाको लामो समय हुँदाहुँदै पनि आजका मिति सम्म अध्यक्ष कक्षपति र नेता खड्कासँग व्यक्तिगत र सार्वजनिक रुपमा अध्यक्ष विकले गल्ती समेत महशुस नगर्दा हामी बाध्य भएर यो घटना सार्वजनिक गर्न र कानुनी कार्वाहीका लागि सम्बद्ध निकायसँग जानुपर्ने अनिवार्यता सावित भएको छ ।’
‘निवर्तमान अध्यक्ष र पूर्व जनप्रतिनिधि समेत रहेका हाम्रा अध्यक्ष र नेता खड्का प्रति यस्तो व्यवहार गर्ने गाउँपालिका अध्यक्ष विक एकछिन पनि खजुराको स्थानीय सरकार प्रमुख भएर बस्नु कुनै नैतिकता र जिम्मेवारीले सुहाउदैन । हाम्रा नेता र निवर्तमान अध्यक्ष प्रति दुब्र्यवहार गर्ने अध्यक्ष विकले आम खजुरावासी र अन्य व्यक्तिसँग कुनहद सम्मको व्यवहार गर्छन भन्ने यसैबाट प्रमाणित भएको छ’, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘हामी अध्यक्ष विक र उहाँको पार्टीलाई समेत सचेत गराउदछौँ । हाम्रो पार्टी अध्यक्षमाथी, उहाँको परिवार र पार्टी नेता कार्यकर्ता बाहेकको उपस्थितिमा आगामी दिनमा हुने कुनै घटना वा दुर्घटना सम्ममा पालिका अध्यक्ष विककै प्रत्यक्ष संलग्नता, सहभागिता र निर्देशनमा हुने भएकोले ज्यान सुरक्षा र संरक्षणका लागि सम्बद्ध निकायसँग पनि अनुरोध गर्दछौ ।’
‘हामी यस घटनाको हदैसम्म घोर भत्र्सना गर्दछौँ । र यो घटना व्यक्तिगत भन्दा पदीय पूर्वाग्रह, राजनीतिक प्रतिसोध घटना हो । उहाँको पार्टीले दिएको जिम्मेवारीका आधारमा सार्वजनिक पद धारण गर्न उहाँ अयोग्य समेत भएको ठहर गर्दछौँ । यसका साथै सम्बद्ध निकायलाई घटनाको गहन अनुसन्धान गर्न र नीजलाई कावार्हीको दायरामा ल्याउन अनुरोध गर्दछौँ । हामी हाम्रा नेता—कार्यकर्तालाइ विचलित नहुन पनि अपिल गर्दछौँ ।’, विज्ञप्तिमा भनिएको छ ।
