(Saturday 25th of July 2026)
`

नेपालगन्जमा टाँगा चल्न छाडेपछि घाँस बिक्रि हुन छाड्यो

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    रुपनी जिएम – बाँके  : ‘पानीमा रुझ्दै दिनभरी झाँस खोजेर बल्लबल्ल एक बोरा काटिन्छ । त्यही पनि साँझ बेच्दा पाँच रुपैया दश रुपँयामा बेच्नुपर्छ । हाम्रो मेहेनत र मर्का कस्ले बुझिदिने ?’ यो प्रश्न हो बाँकेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ घसियारन टोलकी गुड्डी घरियारको । घाँसबाट दिनमा जम्मा सयदेखि डेढसय सम्म मात्र कमाई हुने गुड्डीले आफुसँगै ६ जनाको परिवारलाई पाल्नु परेको छ । श्रीमान बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुहुन्छ उहाँ । ‘श्रीमान बिरामी नहुँदा उहाँले पनि मज्दुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो । उहाँ बिरामी भएर थलिएदेखि उहाँको उपचार खर्चदेखि साँझ बिहानको छाक टार्न मलाई धेरै नै मेहेन तग गर्नु परेको छ ।’ गुड्डीलाई घाँस काट्नमा सघाउनु हुन्छ उहाँकी १७ वर्षिया छोरी सोनी घँसियारले । तीन कक्षा पढ्दापढ्दै स्कूल जान छाडेकी सोनी आमासँगै नेपालगञ्जका खाली चौरमा घाँस काट्न जानुहुन्छ । घाँस काटेर जीविको पार्जन गर्ने गुड्डीको परिवार तेश्रो पुस्ताको परिवार हो ।
    गुड्डीका अनुसार पहिला नेपालगञ्जमा टाँगा चल्ने गथ्र्यो र घाँस पनि राम्रै विक्रि हुन्थ्यो । हिजोआज टाँगाको ठाउँमा अटो रिक्सा चल्ने भएकाले मान्छेहरुले घोडा पाल्न छाड्दै गए र घाँस किन्नेहरु पनि घट्दै गए । ‘पहिलापहिला घोंडाका लागि घाँस किन्नेहरु हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन् ।’ उहाँले भन्नुभयो,‘घोंडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ । आहार फरक भएपछि घाँस खरिदसँगै कमाई पनि घट्नु स्वभाविक हो ।’
    गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आई रहनुभएको छ मिना घँसियारले पनि । श्रीमानको मृत्युपछि दुई सन्तानसँगै आफ्नो पेट पाल्न मिना पनि गुड्डी जस्तै नेपालगञ्जका खाली ठाउँहरुमा बोरा बोक्दै दिनभरी घाँस काट्न जानुहुन्छ । उहाँको पनि दिन भरीको घाँसबाट साँझ कमाई भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ । ‘घाँस किन्न आउनेहरुले हाम्रो न मेहेनत बुझ्छन् नत हाम्रा बालबच्चाहरुमा दयामाया नै देखाउँछन् ।’ मलिन मुहार बनाउँदै मिना भन्नुहुन्छ,‘हामीले बीस रुपैयाँ भनेको घाँसलाई किन्नेहरुले पाँच रुपैयाँ भन्छन् । कसैले पाँच र त कसैले दश रुपैयाँ दिएर लैजान्छन् । साँझ परिसकेको हुन्छ । घरमा छोराछोरीलाई खाना पाकउने हतारोमा पाँच दश रुपैंयामा भएपनि बेच्न पर्ने हाम्रो बाध्यता छ ।’
    वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीनसय सम्मको कमाई हुने बताउनुहुन्छ मिना । घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मिना डेढ लाख बचत गरेको पनि बताउनुभयो । मिनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताउनुभयो । ‘छोरीको बिहेको लागि भनेर मैले २० वर्षदेखि घरखर्चबाट पैसा जोगाएर सहकारीमा डेढलाखको बचत गरेको थिएँ । तर त्यो सहकारी नै भागेपछि मेरो वर्र्षौदेखिको कमाई खेरै गयो । मैले छोरीको बिहे गर्न सकिरहेको छैन ।’ उहाँले दुःखी हुँदै भन्नुभयो ।


    मिना र गुड्डीको भन्दा फरक छैन परेमपति घसियारको कथा पनि । ४० वर्षको उमेरमा हजुरआमा बनिसक्नु भएकी परेमपतिको चार पुस्ता नै घाँसको भरमा बाँच्दै आई रहेको छ । श्रीमान र छोराले मज्दुरी गरेपनि काम नपाउँदा उहाँहरुबाट कमाई नहुने परेमपतिको भनाई छ । हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मज्दुरी जस्तो अभाव नहुने उहाँले बताउनुभयो । ‘मज्दुरी त पाईए गर्ने हो नपाईए घरमा नै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाईन्छ । त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाईएको पैसाले नै बल्ने गरेको छ ।’ परेमपतिको कमाई पनि यो सिजनमा सयदेखि डेढसय सम्म मात्रै हुने गर्छ ।
    २७ घरधुरी भएको उक्त घसियार टोलको एउटा घरमा तीनजना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन् । घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन् । साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ—आफुले काटेको घाँसको थुप्रो लगाएर महिलाहरु मात्रै घाँस बेच्ने गर्नुहुन्छ । उहाँहरुले बेच्ने घाँसको निश्चित मूल्य नै छैन । जस्ले जतिमा बेच्न सक्यो त्यति नै त्याहाँ घाँसको मूल्य बनेको हुन्छ ।
    घाँस विक्रिका लागि स्थानिय सरकारले निश्चित मूल्य तोकिदिए आफुहरुको आर्थिक अवस्था थोरै भएपनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षिय सुरेश घँसियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘दिनभरी घामपानी केही नभनि दुःख गरेर आमा बहीनीहरुले काटेको घाँस साँझ जम्मा पाँच रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ । स्थानिय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुबैले पैसामा बार्गेनिंग नै गर्नुपर्दैनथ्यो नि ।’
    नेपालगञ्जको मुटुका रुपमा चिनिने त्रिभुवन चोक नजिकै रहेको घँसियार जातिको तीन÷चार पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पुर्व उपमेयर तथा टोलका स्थानीय बासी शमशुद्धीन सिद्धीकी बताउनुहुन्छ । उहाँका अनुसार पुस्तौं पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारहरुको आर्थिक अवस्था उहाँहरुको पहिलो पुस्ताको जस्तो थियो आज तेश्रो÷चौथो पुस्तासम्म आई पुग्दा पनि उस्तै रहेको छ । ‘हामी नजन्मिदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनु हुन्थ्यो पहिलापहिला पाँच÷दश पैसामा घाँस बिक्रि गर्थे रे । आज जम्मा पाँच÷दश रुपैयामा विक्रि गर्ने गर्छन् । के फरक भएको भन्ने त ? ’
    नगरका पुर्व उपमेयर सिद्धीकीले घँसियारहरुको जीवनलाई परिवर्तन गर्न नसकेको आफु दुखि भएको बताउँदै उपमहानगर भित्र रहेको उक्त घँसियारन टोलका समुदाय बर्षौ देखि बिपन्नतामा बाँचीरहेको बताउनुभयो । ‘टोलमै हाइस्कुल पढेका मान्छे छैनन् । हातमा सिप छैन । ब्यबसाय गर्न लगानी छैन । केही नभएपछि घाँस काटेर जिबिका चलाइरहेका छन् ।’ सिद्धीकीले भन्नुभयो,‘उनिहरुको जिबन स्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याई दिने हो भने घसियारका छोराछोरीको भविष्य उज्जवल हुने थियो ।’ वडा अध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडी परेको बताउनुभयो । ‘शौचालय मर्मत देखि नुहाउकालागि बाथरुमहरु बनाउने योजनामा छौ ।’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरुका लागि काम गर्ने योजना बनाएका छौं । घाँसको मूल्य निर्धारण पनि चाँडै नै गर्ने छौं ।’

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology