नेपालगन्ज : नेपालगन्जको मुटु धम्बोझीमा स्व. राजा बिरेन्द्रको शालिक पुर्नःस्थापन गर्न अभियानको सुरु भएको छ ।
मातृभूमि नवनिर्माण अभियान नेपालका संयोजक तेज बिक्रम शाहले राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न नेपालगन्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा पत्रकार सम्मेलन गरेर जानकारी दिनु भएको हो । धम्बोझी चोकमा कुनै पनि परिस्थितिमा स्व. राजा बिरेन्द्रको शालिक स्थापन गरेरै छाड्ने अभियानका संयोजक तेज बिक्रम शाहले बताउनुभयो । मातृभूमि नवनिर्माण अभियानका संयोजक तेज बिक्रम शाहका अनुसार अभियानले नेपालगन्जको बिरेन्द्र चोक स्थित राजा बिरेन्द्रको शालिक पुनस्थापना गर्नको लागि पहिलो चरणमा राजनैतिक दलहरुको सहमति लिनको लागि सम्पर्क, समन्वय र अन्तरक्रिया गर्ने र जिल्ला प्रशासन कार्यालय, बाँके, अन्य सुरक्षा निकायहरुसंग पनि सम्पर्क र समन्वय गर्ने पत्रकार सम्मेलनमा संयोजक शाहले बताउनुभयो ।
नेपालगन्जको बिरेन्द्र चोकमा राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनस्थापना गरिने जानकारी गराउदै सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै अभियानको घोषणा गर्नुभयो ।

साथै राजा बिरेन्द्रको शालिक पुनःस्थापनको लागी १५१ सदस्य रहेको राजा बिरेन्द्र शालिक पुनस्थापना समिति, नेपालगंज, बाँके गठन गरेको समेत पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनुभयो । त्यस्तै अभियानले शालिक निर्माण उपसमितिको संयोजकमा गणेश थापा, स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा कपिल शाह, मिडिया परिचालन उपसमितिको संयोजकमा बिरेन्द्र गहतराज र आर्थिक ब्यबस्थापन उपसमितिको संयोजकमा सन्ध्या शाही रहेको जनाएको छ । शालिक पुनस्थापनाका लागि यस अघि राख्दा प्रहरी प्रशासनले पुनस्थापना गर्न दिएको थिएन । पुनस्थापना गर्दै लाग्दा प्रहरी र पुनस्थापना गर्ने विच झडप समेत भएको थियो ।
