(Friday 30th of October 2026)
`

अलपत्र परेको किरण नाला पुल निर्माणले पूर्णता पाउँदै

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    नेपालगन्ज, – झण्डै २ वर्षदेखी अलपत्र परेको परसपुर–गौघाट सडक खण्ड अन्तरगत ‘सिगाउँ’ स्थित किरण नाला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको बजेटबाट उक्त पुल निर्माणको काम सुरु गरिएको थियो ।
    तत्कालिन समयमा पुल निर्माणका लागि कुल ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । २०७७ फागुन १९ गते ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीले २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । ठेकेदार कम्पनी ‘गल्वा÷सिद्धार्थ दर्शन जेभी’ ले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थपिएको थियो ।
    गत मंसिरमा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुँदा त्यस क्षेत्रमा पुगेर अलपत्र अवस्थामा रहेको उक्त पुल निर्माण कार्य पुरा गराउने प्रतिवद्धता जनाएका थिए । प्रतिनिधि सभाको सांसदमा निर्वाचित भएपछि उनले ठेकेदार कम्पनी, सम्बद्ध सरकारी निकाय लगायतलाई ताकेता गरेपछि अहिले पुल निर्माणको कामले सार्थकता पाउन लागेको हो ।
    निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त पुलको शुक्रबार ढलान गरिदैछ । ठेकेदार कम्पनीका प्रतिनिधिले ढलानका लागि आवश्यक तयारी पुरा गरेको जनाएका छन् । निर्माणाधिन पुलको बिहीबार स्थलगत निरीक्षण गर्दै काँग्रेस सहमहामन्त्री एवम् सांसद राठौरले आफुले चुनाव प्रचारका क्रममा पुलको दयनीय अवस्था देखेर तत्कालै निर्माण कार्य अगाडी बढाउन ठेकेदार र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेको स्मरण गरे । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको उनले बताए ।
    ‘यो पुलको बारेमा मैले ठेकेदारलाई बारम्बार ताकेता गर्दै आएको थिए, अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको छ,’ राठौंरले भने ‘यसक्षेत्रका जनतालाई पुल नहुँदा निकै समस्या थियो, अब उहाँहरु बर्खायाम अगाडी नै यो पुलबाट आवत–जावत गर्न पाउनुहुन्छ ।’
    पुल निर्माणसँगै परसपुर–गौघाट सडक निर्माणको कामलाई पनि चाडै सम्पन्न गराउन आफुले सम्बन्धित निकायसँग कुरा गरिरहेको सांसद राठौरले सुनाए । आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रमा उक्त सडक खण्डको काम सम्पन्न गराउन आफुले पहल गरिरहेको बताए ।
    निर्माणाधिन पुल निरीक्षण गर्न प्रदेश सभाका सांसद बादशाह कुर्मी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल र नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ पनि पुगेका थिए । प्रदेश सांसद कुर्मीले परसपुर–गौघाट खण्डको अलपत्र पुल निर्माण गर्ने प्रतिवद्धता गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले गरेको र अहिले प्रतिवद्धता पुरा गरेको बताए ।
    पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि परसपुर–गौघाट सडक निर्माणमा आफ्नो ध्यान केन्द्रीत भएको उनले सुनाए । खजुरा गाउँपालिका अध्यक्ष बिकले ठेकेदारले सम्झौता गरेपनि पुल निर्माणको काम लामो समयदेखी अलपत्र परेकोमा अहिले सम्पन्न हुन लागेको बताए । ‘यो पुल निर्माणको काम सम्पन्न भएपछि धेरैलाई राहत मिल्नेछ,’ उनले भने । उपाध्यक्ष मल्लले पुल निर्माणका लागि प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरको योगदानलाई खजुराबासीले सधैं स्मरण गरिरहने बताइन् ।
    ‘किशोर दाईले चासो नदिएको दुई वर्षसम्म अलपत्र परेको पुल यति चाडै सम्पन्न हुने सम्भव नै थिएन,’ उनले भनिन् । क्षेत्रीय सभापति खाँले नेपाली काँग्रेसले आफ्नो प्रतिवद्धतालाई जहिले पनि पुरा गरेरै छाड्ने बताए । ‘हामीले जे बोल्छौं, त्यो काम गर्छौ,’ उनले भने ‘किशोर दाईले जनतामाझ गरेको वाचा पुरा गर्नुभयो ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology