(Friday 30th of October 2026)
`

मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीलाई फिर्ता बोलाइने : महामन्त्री थापा

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज, चैत १८ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई शनिवार नेपालगन्न्जमा सम्बोधन गर्दै महामन्त्री थापाले अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताउनुभएको हो ।
    थापाले मुलुकको अवस्था जर्जर रहेको उल्लेख गर्दै भन्नुभयो, “अब न सरकारलाई समयको सुविधा छ न त नागरिकमा धैर्यता छ, त्यसैले तीब्र जनआकांक्षा अनुरुप परिणाम दिने गरी काम गर्नुको विकल्प छैन ।“ उहाँले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताउनुभयो ।
    महामन्त्री थापाले २०८४ मा हुने निर्वाचनमा अब कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । निर्वाचन अघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनौट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उहाँले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा लगायत, पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता लगायतले सम्बोधन गर्नुभएको थियो ।
    सम्मेलनमा सभापति गौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । त्यसक्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान समेत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology