(Friday 30th of October 2026)
`

वनले जंगलक्षेत्र भन्दै निस्सा दिन इन्कार गर्दा भूमिहीन व्यवस्थापनमा चुनौती

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    नेपालगन्ज : भूमिहीन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि नीतिगत पहल जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लुम्बिनी प्रदेश संवाद समूहको आयोजनामा हालै नेपालगन्जमा आयोजित भूमि व्यवस्थापनमा नीतिगत चुनौति र समन्वय बिषयक अन्तरक्रियामा बोल्ने सहभागीहरुले कानुन संशोधन गरेर समस्याको समाधान गरिनु पर्ने बताए । राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले वन मन्त्रालयका कारण भूमिहीनहरुलाई लालपूर्जा दिन समस्या रहेको बताउनुभयो ।
    वर्षौदेखि जोतभोग गरेर बसोबास गरेका सुकुम्बासीहरुलाई वनले जंगल क्षेत्र भन्दै निस्सा दिन इन्कार गर्दा भूमिहीन व्यवस्थापन गर्न चुनौति देखिएको बताउनुभयो । १० वर्षदेखि एकै ठाउँमा बसोबास गर्दै आएकालाई निस्सा दिन सकिने आयोगलाई अधिकार दिइएको छ । तर वनले भने आफ्नो जंगल क्षेत्र भनेर निस्सा दिन रोक लगाउने गरेको छ । उहाँका अनुसार आयोगले जिल्लाका डुडुवा बाहेक अधिकांश पालिकामा अहिले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले लगत संकलन गर्ने काम गरिहेको छ । डुडुवामा भने यो काम अघि बढ्न सकेको छैन । नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले जग्गाधनी पुर्जा प्राप्तिका लागि अपनाइनु पर्ने आवश्यक प्रक्रिया बारे व्यापक बनाइनु पर्ने सुझाव दिनुभयो ।
    नेपालगन्ज उपमहानगर पालिका प्रमुख प्रशान्त विष्टले भूमिहीनहरुको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भूमिहीन समस्यालाई समाधान गर्नु स्थानीय सरकारको पनि दायित्व रहेकाले यसमा आफुहरु गम्भीर रहेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीनलाई व्यवस्थित गर्ने सवालमा आयोगले स्पष्टसँग काम गर्नुपर्ने बताउनुभयो । उहाँले भूमिहीनहरुको समस्या समाधानका लागि समन्वय र सहकार्यका लागि आफु तयार रहेको बताउनुभयो ।
    यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले आफ्नो पालिकामा भूमिहीनहरुको लगत संकलनको काम पूरा भइसकेको र अहिले रुजु गर्ने काम चलिरहेको बताउनुभयो । उहाँले आयोगसँगको सहकार्यमा तत्काल यो समस्यालाई हल गरिनु पर्ने बताउनुभयो । यस्तै राष्ट्रिय भूमि आयोगका विज्ञ अशोक प्रसाद पोखेलले आयोग र वन मन्त्रालयबीचको कानुनी अड्चनलाई संशोधन गरेर भूमिहीनहरुको समस्या तत्काल हल गर्ने गरी आफुहरु लागि परेको बताउनुभयो । संवाद समूहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले सहजीकरण गर्नुभएको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक इश्वरी विक, भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख छविलाल नेपाली, डिभिजन वन कार्यालयका रमेश बुढाथोकी, नेपालगन्ज उपमहानगरपालिका नापी शाखा सर्भेक्षक पुजा बस्न्यात लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले स्वागत गर्नु भएको कार्यक्रमको उद्देश्यमाथि प्रदेश सहजकर्ता बिक्रम खड्काले प्रकाश पार्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology