नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले सबै पक्षको साथ र सहयोगमा प्रहरीले दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको छ । वडा प्रहरी कार्यालयको इन्चार्जको रुपमा केही दिनअघि सरुवा भई आउनुभएका प्रहरी निरीक्षक सुनारले नेपालगञ्जलाई ब्यवस्थित र शान्ति सुरक्षामा ढुक्क रहनेगरि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । बुधबार आयोजित पत्रकार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी निरीक्षक सुनारले नेपालगञ्जका प्रमुख सुरक्षा सवाल लगायतका विषयमा छलफल गर्नुभएको थियो ।
उहाँले आफु यसअघि लामो समयदेखि नेपालगञ्जमा बसेका कारण नेपालगञ्जको अवस्थाबारे पूर्ण जानकार रहेको भन्दै सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । ट्राफिक महाशाखा काठमाडौंबाट सरुवा भएका कारण प्रहरी निरीक्षक सुनारको नेपालगञ्जको अस्तब्यस्त ट्राफिक ब्यवस्थापनका लागि ट्राफिक प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरीसँग समन्वय गरेर अघि बढ्न सुझाव दिइएको छ । सो अवसरमा प्रहरी निरिक्षक सुनारलाई लागु औषध तथा खुला सीमाका कारण हुने चोरी, तस्करी नियन्त्रण, ट्राफिक ब्यवस्थापन लगायतका विषयमा विशेष ध्यान दिन सुझाव दिइएको छ ।
उहाँले प्रहरी एक्लैको प्रयासमा मात्रै समाजमा शान्ति स्थापना हुन नसक्ने भएकाले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । पश्चिम रुकुमको चौरजहारी जन्मथलो भएका प्रहरी निरीक्षक सुनारले उच्च शिक्षा नेपालगञ्जबाटै प्राप्त गर्नुभएको हो । उहाँले नेपालगन्जको माया र सदभावले मेरो कार्यकालमा निश्वार्थ तवरले शान्ति सुरक्षामा सवल र सक्षम भएर लाग्ने जानकारी गराउनुभयो ।
