नेपालगन्ज : बाँकेको नेपालगन्जमा यही माघ १० गते देखि २४ गतेसम्म सञ्चालन हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ को तयारी तीब्र पारिएको छ । महोत्सव शुरु हुन ३ दिन बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान जडान, आन्तरिक तयारी तीब्र पारिएको हो ।
महोत्सवलाई आकर्षक बनाउन थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट निर्माण लगायत प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ८० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबारसमेत हुने आयोजकको अपेक्षा छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने अध्यक्ष खड्काले बताउनुभयो ।

महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका ३ सय स्टल रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुसालले जानकारी गराउनुभयो । महासचिव भुसालका अनुसार कृषि, पर्यटन र उद्योगको प्रवर्धन गर्ने शिलशिलामा महोत्सव परिसरभित्रै थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट लगायत कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका स्टलहरुलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । नेपालगन्ज महोत्सवले कृषि, पर्यटन र उद्योगको प्रवर्धनमा जोड दिईँदै आइएको छ ।

