नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आउनु भएका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बाँकेवासीलाई शान्ति सुरक्षा अमनचयनको महसुस गराउने गरि सुरक्षामा दखल राख्ने प्रतिवद्धता जनाउनुभएको छ । आज पत्रकारहरुसंग अन्तरक्रिया गर्नुहुदै प्रहरी प्रमुख राठौरले बाँकेवासीलाई शान्ति सुरक्षामा कुनै किसिमको खोट महसुस नहुने गरि सुरक्षामा कडाई गरिने बताउनुभएको हो । बाँके आएको केही दिन मै बाँकेको समग्र अवस्था र पत्रकारहरुसंग सहकार्य गरेर अगाडी बढ्ने मनसायका साथ पत्रकारसंग अन्तरक्रिया गर्नुभएको छ । केही समय अघि मात्र नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख भई आउनु भएका एसपी राठौंरले बाँके जिल्ला मेरो लागि नयाँ भएको हुनाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सुरक्षा चुनौतीबारे अध्ययन गरेर सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्ने जानकारी गराउदै एसपी राठौंरले यसमा बाँकेवासीको साथ आवश्यक रहेको जानकारी गराउनुभयो ।
खुल्ला सिमानाका कारण भारतबाट हुने अपराधी नियन्त्रण र नदीजन्य बस्तु अवैद्य निकासी रोकथाममा पहिलो प्रथामिकता रहने एसपी राठौरले भन्नुभयो । बाँके प्रहरीको तथ्यांकअनुसार लागुऔषध दुव्र्यसनी र ओसारपसारमा १३ देखी २५ वर्ष उमेरका समूहका युवायुवती बढी संलग्न हुने गरेका छन् । दुव्र्यसनीमा फसेका व्यक्तिको व्यवहार पूर्ण रूपमा असमाजिक हुने गरेको प्रहरीले बताएको छ ।
बाँके सिमासँग जोडिएकोले पनि यहाँ अपराधिक घटना धेरै हुने भएकोले नागरिकको सुरक्षा प्रत्याभूत गर्नु बाँके प्रहरीका लागि चुनौती देखिएको छ । यद्यपी बाँके र कोहलपुरमा आउने हरेक प्रहरी प्रमुखको पहिलो प्राथमिकतामा अपराध नियन्त्रण, नदीजन्य बस्तु अबैद्य निकासी रोकथाम नै पर्ने गरेको छ । यसले भारतसँग सिमा जोडिएको बाँके र भारतीय शहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको छ । बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्र यौन क्रियाकलाप, गुण्डागर्दी, जुवातास, लुटपाट, चोरी डकैतीको केन्द्र मानिएको छ । नेपालगन्ज र कोहलपुरमा हरेक होटलमा जसो खुल्ला यौन धन्दा चल्ने कार्यलाई रोक्न सक्दो पहल गर्ने उहाँले बताउनुभयो । केही दिनअघिदेखि बाँके प्रहरीको कमाण्ड एसपी सन्तोषसिंह राठौरले सम्हाल्नुभएको छ । यतिबेला राठौरको बाँकेमा अग्नी परीक्षा शुरू भएको छ । बाँकेको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतका कुरामा उहाँको अग्नी परिक्षा हुने देखिएको छ ।
