बाँके, २५ कार्तिक : केही दिन अघि बाँकेको नेपालगन्जमा एउटा टेलिभिजन बहसमा सहभागीलाई अज्ञानी, काम नपाएका मान्छे, सबैको भोट मलाई चाहिदैन जस्ता शब्दावली प्रयोग गर्दा विवादित बनेका बर्दिया क्षेत्र नं. २ छाडेर बाँके ३ मा गठबन्धनका तर्फबाट उम्मेरवार नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले बर्दियाका स्थानीय तहका प्रमुखलाई परिचालित गरी शिक्षकबाट चन्दा असुल्न लगाएको खुलेको छ । काँग्रेसले जितेका पालिकाहरुका शिक्षकहरुबाट जनही ८ हजारदेखि १० हजारसम्म चन्दा असुली गरेको खुलेको हो । स्रोतका अनुसार शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई गोप्यरुपमा भेला गराएर पालिकाका प्रमुखहरुले चन्दा मागेको बताइएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा काँग्रेसले जितेको छ । ती ठाउँका शिक्षक संघमा आवद्ध शिक्षकहरुबाट चन्दा उठाइएको हो यसरी सुशासन र विकासको अपेक्षा गर्न नसकिने स्रोतहरुको भनाई छ । यति मात्र होइन बाँके र बर्दियाका कतिपय स्थानीय तहका प्रमुख राठोरको प्रचारमा आचारसंहिता विपरीत खुलेआम लागेका छन् । बाँके क्षेत्र नं. ३ का एक स्थानीयले भने हामीले उजुरी गरे मात्र निर्वाचन आयोगले कारवाही गर्ने हो कि यसरी खुलेआम प्रचारप्रचारमा जाँदा र उनका पक्षमा भोट माग्दा किन हेरिएको छैन प्रश्न गरे ।
