(Saturday 25th of July 2026)
`

बाँके क्षेत्र नं २ को चुनावी मैदानमा उत्रिएका उम्मेद्वारको परीक्षा

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    नेपालगन्ज, ०१ कात्र्तिक – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक छाइसकेको छ । चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सबै उम्मेदवार अनि उनका दलहरू चुनावी कार्यक्रममा व्यस्त छन् । त्यसमा पनि बाँके क्षेत्र नं २ को चुनावी माहोल अझ रोचक छ ।
    प्रतिनिधिसभाका लागि यो क्षेत्रमा पाँच जना स्वतन्त्र उम्मेदवारसहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेपालगञ्ज बजार र डुडुवा गाउँपालिकाका केही वडाहरू समेटिएको क्षेत्र नं. २ मा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् भने अरू दल र उम्मेदवारहरू एक्लाएक्लै छन् ।
    प्रतिनिधिसभाका लागि दोस्रोपटक पनि चुनावीमैदानमा आएका जनता समाजवादी पार्टीका नेता मो.इस्तियाक राईलाई चुनौती दिँदै एमाले र राप्रपाका साझा उम्मेदवार राप्रपाका महामन्त्री धवलशमशेर राणा, कांग्रेसका सुदीपनरसिंह राणा र शिवसेनामा आवद्ध दिवाकर खनाल दरिला प्रतिष्पर्धामा उत्रिएका छन् । अहिलेसम्म यो क्षेत्रमा एउटै उम्मेदवारले दोहो¥याएर चुनाव जितेका छैनन् । प्रधानमन्त्री समेत रहेका स्व. सुशील कोइराला यो चुनावी क्षेत्रका मतदाताले हरेक चुनावमा नयाँ मान्छेलाई परिक्षण गरिरहेका छन् । मधेस आन्दोलनअघि नेपाली कांग्रेसको राम्रो पकड रहेको यो क्षेत्रमा त्यसपछि कांग्रेसी मत तितरबितर भयो ।
    हालैको स्थानीय चुनावलाई हेर्ने हो भने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ । सत्ता साझेदारको गठबन्धनबाट नेपालगञ्ज उपमहानगरमा जितेपनि डुडुवामा भने कांग्रेस एक्लै लडेको थियो ।
    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपाका इस्तियाक राईले २१ हजार ५ सय ७५ मत ल्याएर चुनाव जितेका थिए । एमालेको समर्थनमा चुनाव लडेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मत ल्याएका थिए । त्यस्तै नेपाली कांग्रेसको समर्थनमा उठेका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मतमात्रै ल्याएका थिए ।
    मिश्राले ल्याएको मत एमालेको मात्रै थिएन । राप्रपाको पनि आफ्नोमात्रै मत होइन । अहिलेको चुनावमा केही मत बढेको छ । तर इस्तियाक राईलाई पनि आफ्नो पार्टीको भोटले मात्रै जित्न मुश्किल छ । स्थानीय निर्वाचनमा नेपालगञ्जमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रशान्त विष्टले २३ हजार ४ सय ६० मत ल्याएका थिए । गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका कमरुद्दिन राईले १७ हजार ९ सय ५० मत ल्याए । एमालेका पशुपतिदयाल मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए भने उपमेयरमा शान्ति ढकालले १० हजार ९ सय १५ मत ल्याएकी थिइन् । राप्रपाका नन्दलाल बैश्यले ७ हजार ५ सय ९८ र उपमेयरमा विन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत ल्याएकी थिइन् ।
    डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरीले ६ हजार २ सय ७२ मत ल्याएर जिते। जसपाका भण्डारीलाल यादवले ५ हजार १ सय २५ र एमालेका सरोजकुमारी यादवले ३ हजार ७ सय १९ मत ल्याएका थिए । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा नेपालगञ्जमा जिकज्याक र डुडुवामा अलि प्रष्ट देखिन्छ । नेपालगञ्जमा कमरुद्दिन र डुडुवामा भण्डारीलालको मतलाई जसपाको मत मान्दा २२ हजार ७ सय मत हुन्छ ।
    नेपालगञ्जमा कांग्रेसका प्रशान्त र डुडुवामा नरेन्द्रको मत जोड्दा २९ हजार ७ सय ३२ हुन्छ । एमालेका पशुपतिदयाल र सरोजकुमारी, राप्रपाका नन्दलालको मत जोड्दा २२ हजार ९ सय ९२ हुन्छ । नेपालगञ्जमा कांग्रेससँग जसपा, माओवादी, नेकपा समाजवादी, जनमोर्चा मिसिएकाले एउटा पार्टीको मत यति हो भन्ने यकिन हुँदैन। त्यसमा पनि मो. इस्तियाक र धवलशमशेरको व्यक्तित्व उस्तै छ । यी दुई नेताले व्यक्तिगत मत धेरै तान्न सक्छन् । स्थानीय तहको उम्मेदवारलाई हेरेर यी दुईको मतलाई आकलन गर्न अपुग हुन्छ ।
    पटक–पटक मन्त्री भएका राई, नेपालगञ्जको दुई पटक मेयर भएका राणाको व्यक्तिगत प्रभावले नतिजामा प्रभाव पार्छ । संगठन बलियो नै रहेको कांग्रेसले सुदीपनरसिंह राणालाई अघि सारेको छ । कोइरालाको निर्वाचन क्षेत्रमा देउवाले एक्लौटी गर्दा सुदीपनरसिंहलाई आफ्नैभित्र चुनौती पनि देखिन्छ । सत्ता गठबन्धन टुटेपछि अन्तिममा मात्रै सुदीपनरसिंहले टिकट पाएका थिए । नेपालगञ्जमा शिवसेनासमर्थित उम्मेदवार दिवाकर खनालले पनि आक्रमक प्रचार गरिरहेका छन् ।
    जसपा र कांग्रेस कमिटि गठन र पार्टीलाई मिलाउन लागि पर्दा धवल र दिवाकरले प्रचार प्रसार गरिरहेका छन् । दिवाकरले हिन्दु मतलाई एकत्रित पार्ने प्रयास गरिरहेका छन् । उनले अहिलेसम्म नेपालगञ्ज बजारबाहिर प्रचारप्रसार गरिरहेका छन् । इस्तियाक आफूले मन्त्री हुँदा नेपालगञ्जको धेरै विकास गरेकाले आफ्नो प्रतिस्पर्धी कोही नरहेको दावी गर्छन् । राणाको दुई पटक मेयर हुँदा नेपालगञ्जमा सयौं वर्ष हुन नसकेको विकास गरेको दावी छ । सुदीपनरसिंहको कांग्रेसको मतलाई एकत्रित गर्दा नै चुनाव जित्ने भनाई छ । दिवाकरले पनि जनताले एकपटक आफूलाई जिताउने दावी गर्छन ।
    जुन उम्मेदवारले जे दावी गरेपनि नेपालगञ्जको मत स्थिर नरहेकाले यसपालीको चुनाव कसले जित्छ भन्न सकिने अवस्था छैन । नेपालगञ्जको चुनावलाई पार्टीको केन्द्रीय तहबाट निगरानी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology