आशा परियार नेपालगन्ज : नेपालगन्ज मालपोत कार्यालयमा बिचौलियाको बिगबिगी बढेको सेवाग्राहीले गुनासो गरेका छन् । बिचौलियालाई काम गराए बापत पैसा नदिए काममा ढिलाइ हुनुका साथै कर्मचारीले काममा अल्झाउने गरेको सेवाग्राही बताउँछन् । आफ्नो काम छिटो र छरितो गराउनलाइ पनि मालपोतका बिचौलियाहरुलाइ पैसा अथवा घुस दिन बाध्य भएको सेवाग्राही बताउँछन् । जग्गा रोक्का सम्बन्धी मालपोत कार्यालयमा आउनुभएका सेवाग्राही राप्तीसोनारी गाउपालिका वडा नं ५ को वडासदस्य तथा सेवाग्राही कमला बि.कले बिचौलियाका कारण काममा ढिलाइ भएको बताउनुभएको छ ।
बिचौलिया बिना मालपोतका कर्मचारीले काम नगर्ने भएकाले सबै जान्दाबुझ्दा बुझ्दै बिचौलियालाइ घुस दिएर काम बनाउन बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “मैले पोहरसाल जग्गा सम्बन्धीको कामले मालपोत आएको थिए तर यहाँ लेखापढीको नाममा यति पैसा दिनुस् काम गरिदिन्छु भनेर भने,‘म आफै गर्छु’ मैले भने तर यहाँ बिचौलिया बिना कर्मचारीले कामै नगर्ने रहेछन् ।
सबै टाढाबाट आएका हुन्छन । कोही राप्तीसोनारी कोही कोहलपुर कोही नरैनापुरबाट । सबैलाइ आ आफ्नो काम छिटो सिध्याएर घर फर्कन पनि हतार हुन्छ । मालपोतकै कर्मचारीले एउटा सानो काम बनाउन ३, ४ दिन लगाइदिनुहुन्छ ३,४ मालपोत धाउनु भन्दा दुई तिन हजार पैसा दिएर बिचौलियालाई काम गराएको छु । मालपोतमा सबै कागजात झ्यालबाट पु¥याउनुपर्छ । बिचौलिया बिना कर्मचारी काम गर्दैनन अनि तिन चार दिन मालपोत धाउनु भन्दा केही पैसा दिएर बिचौलियासंग काम गराउछौ । हामी जतिको कानुन बुझेको मान्छेलाई त मालपोतमा काम गराउन गाह्रो छ झन सर्वसाधारण व्यक्तिको के हालत हुन्छ होला ? मालपोतमा बिचौलियाले कर्मचारीसंग कसरी छिटो र छरितो काम गराउछन् ? के मालपोतका कर्मचारीलाइ राज्यले तलब दिएको छैन ?” यस्ता समस्या मालपोतमा मात्र नभइ अधिकांश सरकारी कार्यालयहरुमा भएको वडासदस्य बि.क बताउनुहुन्छ । यस्ता काम प्रति स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यान जान नसके यसले ठुलै भ्रष्टाचार निम्त्याउन सक्ने उहाँले दाबी गर्नुभयो ।
मालपोत कार्यालय नेपालगन्ज बिचौलियाको कब्जामा रहेको राप्तीसोनारी निवासी तथा सेवाग्राही यामकला बस्नेतले बताउनुभयो । उहाँका अनुसार पैसा नदिए काममा ढिलाइ हुने कर्मचारी नै नास्ता खान, केही काम छ भन्दै बाहिर निस्कने गरेको र पैसा दिए छिटो काम हुने गरेको छ । उहाँले भन्नुभयो मान्छेहरू लाइनमा छन् । दुःख पाइराखेका छन् उहाँले भन्नुभयो । सेवाग्राही बस्नेतले मालपोत कार्यालयमा कागजात बोकेर धेरै शाखामा जानु पर्ने भएको हुनाले हामीले काम गराउनका लागी पैसा नदिए सम्म काममा ढिलाइ र आलटाल हुने गरेकोले र काम छिटो हुन्छकी भन्ने आशाले पैसा दिदै आउने गरेको गुनासो व्यक्त गर्नु भएको छ । राज्यले बैक सिस्सटम जस्तै मालपोत लगायत सरकारी कार्यालयमा कुपन सिस्सटम वा सेवाग्राहीलाई सहज हुने खालको प्रविधिको प्रयोग गर्न अति आवश्यक रहेको उहाँले बताउनुभयो ।
मालपोत कार्यालय बाँकेका अधिकृत मनचन्द्र धरलाले मालपोत कार्यालय चुस्त दुरुस्त बनाउन लागि परेको जानकारी गराउनुभयो । विचौलियका कारण हामीलाई पनि समस्या भएको छ यसलाई व्यवस्थापन गर्न खोजिरहेको उहाँले बताउनुभयो । मालपोतमा पहिले टोकन सिस्तम थियो अहिले हटाएको छ उहाँले भन्नुभयो । सेवाग्राही भन्दा बिचौलिया नै भित्रै जाने र फाइल पल्टाएर काम गर्ने हुँदा सेवाग्राहीले काम गराउन पैसा नदिएसम्म काम गर्न कठिनाइ हुने गरेको छ । मालपोत कार्यालयमा मिसिल हराउने श्रेस्ता नयाँ घुस्ने र बिचौलियाका कारण व्यक्तिका जग्गा सरकारी र सरकारी जग्गाहरू व्यक्तिको नाममा भएको समेत थुपै्र घटनाहरु छन् ।
