राप्तीसोनारी : बाँकेको राप्तीसोनारी गाउँपालिकाको उपाध्यक्ष मनिषा सिंह थारु स्थानीय निर्वाचनबाट निर्वाचित भए लगत्तै निरन्तर जनताको समस्या पहल्याउँदै अनुगमनमा व्यस्त देखिनु भएको छ । स्थानीय चुनावको बेला जनता सामु राखेको ऐजेण्डाहरु पुरा गर्दै उपाध्यक्ष थारु अनुगमनमा व्यस्त देखिनुभएको हो । थारु समुदायबाट हुर्किएकी थारु चेली मनिषा आफुले बिभिन्न चुनौतीको सामना गर्दै राजनीतिक यात्रा सुरु गरेको बताउँनुहुन्छ ।
उहाँले स्थानीयवासीका समस्यालाई केन्द्रबिन्दु बनाएर गाउँपालिकाले समस्याको समाधान गरिरहेको बताउँनुभयो । “म महिला भएकोले पनि पछिडीएका महिला तथा किशोरीहरुलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको छु उहाँले भन्नुभयो ।” गाउँपालिकामा आफुले गर्भवती महिलाहरुलाई पोषण सामाग्री बितरण, बालबालिका कार्यक्रम तथा पालनपोषण परामर्श, महिला स्वास्थ्य सम्बन्धी परामर्श, छात्रा बिशेष कार्यक्रम तथा महिला बिशेष चार्डपर्व समेतलाई योजनामा राखेको उपाध्यक्ष थारुले जानकारी गराउँनुभयो । राप्तीसोनारीको समग्र बिकासको लागि प्रदेश संघको सहयोगमा राप्तीसोनारीको कृषि, शिक्षा, स्वास्थ्य, रोजगार अन्य क्षेत्रमा निश्पक्ष रुपमा काम भैरहेको उहाँले बताउँनुभएको छ ।
राप्तीसोनारीका किसानहरुलाई कृषि क्षेत्रमा सहज गराइदिन गौशाला र गड्याउलाबाट उत्पादन भएको मल बितरण गरेर कृषि उत्पादनमा समेत जोड दिने बताउँदै महिला सशक्तिकरणको लागि महिला क्षमता अभिबृद्धी तालिम संचालन गर्ने जानकारी गराउँनुभयो । चुनावी अभियानमा स्थानिय जनतासामु वाचा गरेको एजेण्डा पुरा गर्न नसक्दा आफुलाई लज्जास्पद भएको उहाँले बताउनुभयो । विस्तारै जनता सामु दिएको वाचा पुरा गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । केही महिना मात्र काम गरेको हुनाले स्थानियवासीलाई दिएको वाचा पुरा गर्ने उहाँले बताउनुभयो ।
