आशा परियार
नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ छ्रग्रहवा स्थित नव दुर्गा भगवती मन्दिर तारजाली घेरबार गर्ने आयोजनामा रकम घोटाला गरिएको खुलासा भएको छ । नव दुर्गा भगवती मन्दिर तारजाली घेरबार गर्ने आयोजनामा आएको बजेटमा नव दुर्गा भगवती मन्दिर उपभोक्ता समितीले घोटाला गरेकोे स्थानियवासीले बताएका छन् । मन्दिरको तारजाली घेरवार गर्न प्रयोगमा ल्याएको सिमेन्टको मुल्यदेखि तार समेतको मुल्यमा फरक विल पेश गरेको डुडुवा गाउँपालिका ५ का स्थानीयवासी मंगल प्रसाद राढ्ले बताउनुभयो ।
उपभोक्ता समितीले रु ५ सय ७० रहेको सिमेन्टको मुल्य रु ६ सय ५० देखाएको स्थानीयवासी राढ्ले जानकारी गराउनुभयो । डुडुवा गाउँपालिकाले मन्दिर तारजाली घेरबार गर्ने आयोजना उपभोक्ता समितीलाई दिएको थियो । गाउँकै स्थानीयवासी राढ्को आफ्नै ट्रयाक्टर भएको हुदाँ तारजालीको प्रयोगमा आउने गिट्टी मोरङ्ग ल्याउने जिम्मा आफुले पाएको उहाँले बताउँनुभएको छ ।
उपभोक्ता समितीले दिएको जिम्मेवारी अनुसार आफुले तालिम केन्द्र कारकाँदो नेपालगन्ज देखी डुडुवा ५ छग्रहवा कार्यनिर्माण हुदै गरेको ठाँउमा दुई ट्रिप मोरङ्ग र गिट्टी पु¥याएको तर उपभोक्ता समितीले नेपालगन्ज देखी कार्यनिर्माण स्थल सम्मको भाडा रु ५ सयको दरले एक हजार मात्र दिएकोमा आफु असन्तुष्टी जनाउनुभयो । मन्दिरको नाममा श्रमदान देखाउने र विल भर्पाई पनि फरक देखाएर ठुलो रकम घोटाला गरिएको उहाँले बताउँनुभयो । उहाँले भन्नुभयो “सामान कम ल्याउँछन् बिल बढीको बनाउँछन् गाउँकै मान्छे हो भनेर डर धम्की दिएर मलाई चुप लगाउन र मन्दिरको बजेट सामसुम पारेको उहाँले भन्नुभयो ।”
“मलाई तालिम केन्द्र नेपागन्ज देखी आधा – आधा ट्रिप मोरङ्ग र गिट्टी ल्याउन लगाइयो तर बिल फुल ट्रिपको बनाइयो मैले त ट्रयाक्टरको बिलको भ्याट तिर्नुपर्छ” आफुले काम गरेको पैसा माग्दा उपभोक्ता समितीको अध्यक्ष ओके गिरी, कोषाध्यक्ष बिष्णु गिरीले आफुलाइ अभद्र व्यवहार गरेको उहाँले आरोप लगाउनुभएको छ । यस बिषयमा प्रहरी प्रशासनसम्म पुग्दा समेत प्रहरी प्रशासनले आनाकानी गरेको उहाँले गुनासो गर्नुभयो ।
नव दुर्गा भगवती मन्दिर तारजाली घेरबारको अनुगमनको जिम्मा पाएको कालु गिरीका अनुसार जेठमा सक्नुपर्ने काम स्थानिय तहको निर्वाचनका कारणले ढिलाईभएको जानकारी गराउँनुभयो । उहाँको अनुसार पहिलो बजेटमा तार पोल ४ हजार लागत र बाँकी निर्माण कार्यमा लाग्ने लागत सहकारीबाट ऋण निकालेर काम चलाएको उहाँले बताउनुभएको छ । “गाउँपालिकाले बाँकी बजेट दिनासाथ ट्रयाक्टर चालक राढलाई दिने बताउँनुभयो ।
गाउँपालिकाको २ लाख बजेटमा १ लाख ६ हजार बजेट दिइसकेको र बाँकी बजेट आउन बाकी रहेको कोषाध्यक्ष बिष्णुमाया गिरीले जानकारी गराउँनुभयो । मन्दिर संरक्षण गरौ भन्ने उद्देश्यले निर्माण गरिएको मन्दिरको जाली पोल स्थानीय राढ्ले उखालेर फालदिएको र समितीमा घोटलाको आरोप मात्र लगाएको कोषाध्यक्ष गिरीले बताउँनुभयो । कोषाध्यक्ष गिरीको अनुसार मन्दिर निर्माणका लागि ८ बोरा सिमेन्ट ल्याएको थियो ।
समिती अध्यक्ष ओके बहादर गिरीका अनुसार स्थानीय ट्रयाक्टर चालक राढलाई मन्दिर सम्बन्धी कुनै पनि कार्य नगराएको बताउँनुभयो । उहाँले दिएको मन्दिर निर्माण कार्यमा लाग्ने सामाग्री अनुसार १ लाख १२ हजारको २ सय ४० मिटर तारजाली, १६ हजारको २ ट्रिप मोरङ्ग र गिट्टी, ६ हजारको १० बोरा सिमेन्ट, ९६ हजारको ८१ वटा तारजाली अड्याउने पोलको ल्याएको अध्यक्ष ओकेले बताउनुभयो । अध्यक्षले १० बोरा सिमेन्ट ल्याएको जानकारी गराउनुभयो भने कोषाध्यक्षले ८ बोरा मात्र सिमेन्ट ल्याएको जानकारी गराउनुभएको छ । मन्दिर निर्माण कार्यमा डुडुवा गाउँपालिकाले रु २ लाख बजेट बिनियोजन गरेको थियो ।
