नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका सडकमा रहेका फुटपाथ हटाउन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले यहाँका फुटपाथ हटाउन थालेको हो ।
सोमबार साँझ चार बजेतिर प्रहरीसहित पुगेको उपमहानगरपालिकाको टोलीले धम्बोजीदेखि कारकाँदोसम्मको फुटपाथ क्लीन गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरी, ट्राफिक प्रहरी, वडा प्रहरीलगायतले संयुक्तरुपमा फुटपाथ हटाउन भन्दै सडकमा उत्रिएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले सडक तथा फुटपाथ अतिक्रमण गरी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढाएकाले यस्तो अभियान सुरु गरेको बताउनुभयो । यही अभियानअन्तर्गत रहेर नेपालगन्ज धम्बोजीदेखि कारकाँदोसम्म फुटपाथ अतिक्रमण गरी राखिएका ६ मोटरसाइकल, चार स्कुटी उपमहानगरपालिकाका नगर प्रहरीले नियन्त्रण गरेको बताउनुभयो ।
नेपालगन्जमा यस्ता अभियान दैनिकरुपमा हुने ट्राफिक प्रहरी बरिष्ठ सई ओम पौडेलले बताउनुभयो । उहाँले बजार व्यवस्थापन गर्न यो अभियान सुरु भएको बताउनुभएको छ ।
