नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा १० जना किसानहरुलाई पावर टिलर वितरण गरिएको छ । संर्घषशिल सामाजिक महिला उद्यमी सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा किसाहरुलाई पावर टिलर वितरण गरेको हो ।
हेफर इन्टरनेशलको आर्थिक सहयोग विगुप्र संस्था मार्फत सहकारीले किसानहरुलाई पावर टिलर वितरण गरिएको सहकारीका प्रबन्धक भुपेन्द्र खडकाले जानकारी दिनुभयो ।
पावर टिलर वितरण कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सोहनलाल थारुले किसानहरुलाई यान्त्रीकरणमा जोड दिन सहकारीले वितरण गरेको पावर टिलरले सहयोग पुग्ने बताउँदै वडाले पनि किसानहरुलाई आधुनिकीकरण र यान्त्रिकरण जोड दिन यस्ता प्रकृतिका कार्यक्रमहरुलाई अगाडी बढाउने बताउनुभयो ।
सहकारी अध्यक्ष दुर्गा पौडेलले सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुलाई १८ हर्ष पावरको पावर टिलर वितरण गरिएको बताउनुभयो । खरिद मुल्य १ लाख ९८ हजार ५ सय छ हामीले ५० प्रतिशत अनुदानमा दिदाँ प्रति किसान ९९ हजार २ सय ५० तिर्नुपर्ने भएको छ पौडेलले भन्नुभयो ।
हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत सरद कुमार पोखरेलले किसानहरुलाई यन्त्रीकरणमा जोडेर उत्पादनमा वृद्धि गर्न यस आर्थिक वर्षमा बाँकेका ९ र बर्दियाका ८ वटा सहकारीहरु मार्फत किसानहरुलाई कृषि यन्त्रहरु वितरण गर्न डेढ करोड रुपैया बराबरको सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । किसानहरुलाई यान्त्रीकरणमा जोड दिन कृषि पावर टिलर च्यापकटर थेस्रर लगायतका समाग्रीहरु ५० प्रतिशत अनुदानमा वितरण गरिने कार्यक्रम रहेको पोखरेलले बताउनुभयो ।
