नेपालगन्ज : नेपालगन्ज रंगशालाको पौडी पोखरी (स्विमिङ पुल) न्युनतम शुल्क तिरेर सर्वसाधारणले स्विमिङ गर्न सकिने गरी संचालनमा ल्याईएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अनुसार चैत देखि संचालनमा आएको पौडी पोखरीमा दुई सय रुपैयामा दुई घण्टा स्विमिङ गर्न सकिने भएको हो । ‘पौडी प्रशिक्षार्थी, स्कुले विद्यार्थी र अन्य सर्वसाधारणले दुईसयमै विभिन्न सिफ्टमा दुईघण्टा सम्म स्विमिङ गर्न सक्नेगरी संचालनमा ल्याएका छौ’ समितिका प्रमुख महेश चन्दले भन्नुभयो ‘पौडी पारखीहरुको निकै आकर्षण बढेको छ ।’ हरेक दिन २ सय बढि बालवालिका स्विमिङ गर्न आउने गरेको उहाँले बताउनुभयो । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
तीन बर्ष अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका क्रममा नेपालगन्ज रंगशालामा करिव २० करोडको लागतमा बनाईएको उक्त स्विमिङ पुल कोरोना महामारीका कारण संचालन हुन सकेको थिएन । आठौं खेलकुद प्रतियोगिता पछि नेपालगन्जमा कुनैपनि ठुला खेलकुद गतिविधि हुन नसकेका कारण अन्तराष्ट्रिय प्रतियोगिता गर्न सकिने मापदण्डमा बनेको पौडि पोखरी प्रयोग विहिन बनेको थियो ।
पौडीका विशिष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले स्थापना भएको पोखरी चैत देखि संचालनमा आएपछि पौडि प्रशिक्षार्थी, स्कुले विद्यार्थी र पौडी पारखी सर्वसाधारणलाई समेत राहत भएको छ । पानी नतात्ने उच्चप्रविधियुक्त स्विमिङपुल भएपनि समितिले न्युनतम शुल्कमा सबै किसिमका व्यक्तिले प्रयोग गर्ने गरी संचालन गरेको जनाएको छ ।

