नेपालगन्ज : उपमहानगरपालिकालाई मेलमिलापको क्षेत्रमा नमुना बनाईने नव निर्वाचित नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बताएका छन ।
नेपालगन्ज उपमहानगरपालिका स्तरीय सामुदायिक मेलमिलाप समितिले आयोजना गरेको स्वागत,सम्मान तथा कार्यालय अनुगमन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर विष्टले उक्त कुरा बताएका हुन ।
नेपालगन्ज उपमहानगरपालिका नगर स्तरीय सामुदायिक समितिका संयोजक शिव कुमार वर्माको अध्यक्षतामा गरीएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर तथा न्यायिक समितिका संयोजक कमरुद्दिन राईले नगर स्तरीय मेलमिलाप समितिमा आवश्यक पर्ने सबै प्रकारका सुविधाहरुको व्यवस्था गरीने बताए ।
उपमेयर राईले वडा स्तरीय मेलमिलाप केन्द्रमा निरन्तररुपमा क्रियाशिल रहेका मेलमिलाप कर्ताहरुका लागि पनि कार्यक्रम बनाएर अगाडि वढ्न नगर स्तरीय मेलमिलाप समितिलाई सुझाएका थिए । कार्यक्रममा नगर स्तरीय मेलमिलाप समितिका सदस्य अस्मिता शाह महतराले स्वागत मन्तव्य दिइकी थिइन भने नगर स्तरीय मेलमिलाप समितिका सचिव तथा पत्रकार मधु पौडेलले सहजीकरण गरेका थिए ।
पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकामा गठन गरीएको नगर स्तरीय मेलमिलाप समितिले विभिन्न प्रकारका विवादहरुमा मेलमिलाप गराउँदै आएको छ । समितिले हाल सम्म नेपालगन्ज उपमहानगरपालिका भित्रका १३ ओटा वडाहरुमा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना सहित उद्घाटन भैसकेको छ भने १२ ओटा वडाहरुमा यही जेष्ठ महिना भित्र स्थापना गर्ने समितिका सचिव मधु पौडेलले जानकारी दिएका छन् ।
