राप्तीसोनारी : राप्तीसोनारीमा पर्यटन प्रबद्र्धन र युवाहरूलाई रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको राप्तीसोनारीका कांग्रेस उम्मेदवारहरुले बताएका छन् । आइतवार बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं ५ का थारु बस्तीमा घरदैलोपछि आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तीसोनारीमा पर्यटनको राम्रो सम्भावना भएकाले आफू निर्वाचित भएपछि यसको प्रबद्र्धनमा जुट्ने बताए ।
यसका साथै यस क्षेत्रबाट युवाहरु कामका लागि भारत जाने गरेकोमा त्यो समस्या समाधान गरी गाउँमै रोजगारीका अवसरहरु सृजना गर्ने बताए । यसका साथै थारु बाहुल क्षेत्र भएकाले थारु समुदायका संस्कार संस्कृति संरक्षण र प्रवद्र्धनमा समेत ध्यान दिने बताए । यस्तै उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारुले कांग्रेसका जनप्रतिनिधिले गएको ५ बर्षमा गरेका कामहरुलाई निरन्तरता दिँदै जनताको सल्लाह सुझाव अनुसार अघि बढ्ने बताए ।
नेपाली कांगे्रसका नेता तथा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले यसअघि आफूलाई विश्वास गरेर मत दिए जस्तै कांग्रेसका उम्मेदवार पौडेलसहितको समूहलाई विजयी बनाउन आग्रह गरे । यसअघि कांग्रेसले जितेको भएकाले यसपटक पनि शाख जोगाउन सबै मतदातालाई उनले अपिल गरेका छन् । कांग्रेसले विकास गर्न सक्षम र योग्य उम्मेदवारको छनौट गरेकाले यो पटक पनि मतदाताको सहयोग आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा प्रदेश सभा क्षेत्र १ (क) का सभापति लक्ष्मण थारु, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार भोला थारुसहित सबै उम्मेदवार, तरुण दल राप्तीसोनारी उपाध्यक्ष प्रदिप रजक, दोर्ण वली, शेखर रावत लगायत सयौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।
