नेपालगन्ज : नेपालगन्जमा जारी आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको शुक्रवारको खेलमा भारतको हरियाणा स्पोर्ट्स क्लब बिजयी भएको छ ।
शुक्रबार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा भएको पहिलो खेलमा भारतको हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको हो । पहिलो सेट २५–१७ दोस्रो सेट २५–१९ ले गुमाएको हरियाणाले पछिको लगातार ३ सेट २५–१६, २५–१६ र १५–१३ जित्दै ३–२ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो खेल न्यु डायमण्ड स्पोर्टस एकेडेमी र भारतको एकलब्य स्पोर्ट्स कम्प्लेक्स बीच खेल भएको थियो । खेलमा न्यु डायमण्डले जित हात पार्न सफल भयो । लगातार तेश्रो सेट जितेको न्यु डायमण्डले २५–१२, २५–८, २५–५ भारतको एकलब्य स्पोर्ट्स कम्प्लेक्सलाई सोझो सेटमा पराजित गरेको छ ।
लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा आयोजक लुम्बिनी युनाईटेड क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्टस एकेडेमी एवं भारतको हरियाणा स्पोर्ट्स क्लब र एकलब्य स्पोर्ट्स कम्प्लेक्स गरि ६ वटा टोलीको सहभागिता रहेको छ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको दाबी गरिएको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संंस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।
