नेपालगन्ज : प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले बिजयी शुरुवात गरेका छन् ।
बिहिबार नेपालगंज रंगशालास्थित कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपाल प्रहरीले आयोजक टिम लुम्बिनी युनाईटेड एकेडेमीलाई सोझो तीन सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । प्रहरीले २५–१४, २५–१३ र २५–९ को सोझो सेटमा लुम्बिनीलाई सहजै पराजित गरेको हो । दोस्रो खेलमा सेना र न्यु डायमण्ड स्पोर्टस एकेडेमी बीच भएको कडा प्रतिस्पर्धामा सेनाले बाजी मार्न सफल भएको छ । सेनाले पहिलो सेट सहजै २५–१५ ले जित्यो भने दोस्रो सेटमा डायमण्डले उत्कृष्ट पुनरागमनका साथ २९–२८ ले जित्दै खेल १–१ को बराबरीमा पु¥याएको थियो ।
तेस्रो सेट २५–१६ ले जित्दै सेनाले पुनः २–१ ले आफ्नो अग्रता बढायो । नेपाली सेनाले चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै ३–१ ले खेल जित्न सफल भएको छ । बिहीवारबाट शुरु भएको प्रतियोगिता चैत्र १४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमण्ड, आयोजक लुम्बिनी र भारतको छत्तिसगढ तथा महाराष्ट्र गरि ६ वटा टीमको सहभागिता रहेको छ । उद्घाटन सत्रलाई खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्नुभएको थियो । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगितामा ६ वटा टिमहरु भाग लिएका छन् ।

सातौं सस्करण विजेता बन्न सफल भएको एपिएफ यस पटक आठौं सस्करणमा खेलाडिहरुलाई चोटपटक लागेको कारणले भाग नलिने प्रधानमन्त्री कपका अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौठो हुनेले ५० हजारको धनराशी र प्रमाण पत्र पाउने छन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोश्रोमा एपिएफ, तेश्रो र चौथोमा रेलबे टिम इन्डिया, पाँचौमा एपिएफ, छैठौंमा पुलिस र सातौमा एपिएफ च्याम्पीयन बनेका थिए ।



