आशा परियार
नेपालगन्ज ः २७ माघ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम लामो समय सञ्चालन गर्दा पनि सफल हुन नसकेका जिल्लामा पुनः सर्भेक्षण गर्ने भएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानीबङ्गला र कोहलपुर नगरपालिका वडा नम्बर ५ र ६ को रझेनामा फागुन पहिलो साता सर्भेक्षण गर्ने (रि–प्रि–टास सर्भे) तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको टोली बाँकेमा आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासक डा.युवराज पोखरेलसहितको टोलीले बाँकेको बिभिन्न स्थानीय तहहरुमा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । नेपालगञ्जमा अहिलेसम्म सम्पूर्ण वडाबासीहरुले औषधि सेवन गर्न आनाकानी गर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । सर्भेक्षणभन्दा पहिले स्थानीय तह र वडा तहसम्म जनप्रतिनिधी र स्वास्थ्यकर्मीसहितको अन्तरक्रिया गरिनेछ । “यो सफल भएमा एकपटक अभियान सञ्चालन गरेपछि फेरि गर्नुपर्दैन ।”
पाँच वर्षमाथिका व्यक्तिको शरीरमा हात्तीपाइले रोग भए नभएको पहिचान गर्न तथा आम औषधि सेवन कार्यक्रमको प्रभावकारिता पहिचानका लागि सर्भेक्षण गर्न लागेको केन्द्रको भेक्टर कन्ट्रोल अधिकृत कुमार पोख्ररेलले जानकारी यराउनुभएको छ । नेपालगञ्जमा तीन सय जना र कोहलपुरमा तीन सय जना गरी छ सय जनाको रक्त नमुना सङ्कलन गरी जाँच गरिने अधिकृत पोख्ररेलले जानकारी गराउनुभयो ।
सर्भेक्षणमा पाँच जना सम्म अर्थात् दुई प्रतिशत भन्दा कममा देखिएमा सफल मानेर अन्तिममा एकपटक मात्रै आम औषधि कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । बाँकेमा हाल ११ पटकसम्म आम औषधि सेवन कार्यक्रम सञ्चालन भए पनि यसअघि भएका सर्भेक्षण असफल भएका कारण आर्थिक चालु बर्ष २०७७ र ७८ मा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको अधिकृत पोख्ररेलले जानकारी गराउनुभयो । सबैभन्दा बढी देखिएको स्थानमा सर्भेक्षणमा घटेको पाइएमा अन्य स्थानको पनि घट्न भन्ने मान्यता रहने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।
