नेपालगन्ज – कोरोनो संक्रमण तिब्र बढिरहेको अवस्थामा सिमानाकामा पनि राज्यले निगरानी बढाउन आवश्यक रहेको छ । बाँकेको जमुनाहा भन्सार कार्यालय, सुईया बघौडा नाका लगायतका नाका खुल्ला छन् । कोरोनाको तेश्रो लहर चलिरहदा भारतबाट कोरोनाको तेश्रो लहर भित्रिन सकिन्न भन्न सकिन्न तसर्थ सिमानाका बन्द गरिनुपर्ने स्थानियको माग रहेको छ ।
बर्दियामा रहेका विभिन्न नाकाबाट कोभिड भित्रिने अत्याधिक जोखिम रहेको र ती नाकाबाट तस्करी समेत अत्याधिक बढेकोले सबै नाका बन्द गर्न उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले जिल्ला प्रशासनलाई दवाव दिएपछि प्रशासनले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका पुर्ण रुपमा बन्द गरेको छ ।
बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले यी नाकाबाट आउने जानेको लर्को लागेकोले कोभिड संक्रमणको डर धेरै बढेको भन्दै यसलाई रोक्न सीमा नाका बन्द गर्न आफूहरूले स्थानीय प्रशासनलाई दबाब दिएपछि बन्द गरिएको बताउनुभयो।
उहाँका अनुसार जिल्लाको गणेशपुर, कण्ठपुर, चित्तलहवा लगायत नाकाबाट दैनिक सयौँको संख्यामा मानिसहरू किनमेलका लागि सीमापारी बजारमा आउजाउ गर्ने गरेका थिए जसका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको थियो । स्वास्थ्यकर्मीसमेतले निकै भिडभाड हुने भएकाले नाकाबाट कोरोना संक्रमण बढेको भन्दै यसलाई व्यवस्थित गर्न पटक पटक सुझाव दिएको पनि संघले जनाएको छ ।
उता, जिल्ला प्रशासन कार्यालय, बर्दियाले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका पुर्ण रुपमा बन्द गरिएको जनाएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले नाकाबाट कोभिड संक्रमण र अन्य तस्करी बढेको भन्दै नाका बन्द गराउन दवाव दिएपछि सुरजपुर बाहेक सबै नाका बन्द गरिएको बताउनुभयो ।
उहाँले कोरोना पूर्णरुपमा नियन्त्रणमा नआएसम्म सुरजपुरबाहेक सबै नाका अनिश्चितकालका लागि बन्द गरिएको बताउनु भएको छ ।
