नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँके र बर्दियामा आयोजित पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्नुभएको छ । दुवै भेलालाई सम्वोधन गर्नेक्रममा अध्यक्ष ओलिले पार्टीलाई एक ढिक्का बनाएर लैजान स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपालगन्जमा भएको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दै भन्नुभयो ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोक्टो लिएर गए, उनको साथमा थोरै मान्छेहरु छन्, टिभीमा बोल्ने एक÷दुई जना मात्रै छन् ।’ पार्टी कमजोर भयो कि भन्नेमा कुनै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्नुभयो । मेची देखी महाकालीसम्म एमाले नै बलियो रहेको उहाँले दाबी गर्नुभयो ।
वर्तमान सरकारले राजदुतलाई फिर्ता बोलाएर देशकै बेइज्जत गराएको पुर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले फिर्ता बोलाएका राजदुत एमालेको संगठित कार्यकर्ता नभई वैदेशिक मामिलामा विज्ञता हासिल गरेका ब्यक्ति भएको उहाँको भनाई छ । ‘महत्वपुर्ण मित्र राष्ट्रमा रहेका राजदुतलाई पुर्वाग्रही रुपले फिर्ता बोलाउँदा देशकै बेइज्जत भएको छ, उनीहरु नेकपा एमालेका कार्यकर्ता भएकै कारण राजदुत भएका होईनन्,’ उहाँले भन्नुभयो ‘वैदेशिक ममलामा विज्ञता हासिल गरेका, पढेलेखेका ब्यक्ति राजदुत भएर गएका हुन् ।’
ओलीले वर्तमान सरकार असफल भईसकेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘यो सरकारको ध्यान देश बनाउनेमा छैन, देशको स्वाभिमान बचाउनेमा छैन, लिपियाधुरा, लिपुलेख र कालापानीको हाम्रो भुभाग फिर्ता ल्याउन सक्दैन, त्यो समस्या मात्र हो भनेर भन्छ ।’ अध्यक्ष ओलीले परमादेशबाट बनेको गठबन्धन सरकार आफै समस्यामा परेको बताउनुभयो । जनताबाट आएको सरकारलाई धाल्न केही पार्टीले मुद्दा समेत हाल्न पुगे उहाँले भन्नुभयो । ‘अहिलेको गठबन्धन दलहरुको हालत गंगटाको जस्तै भएको छ,’ उहाँले भन्नुभयो ।
अहिलेको सरकारलाई विकास विरोधी मोर्चाको संज्ञा उहाँले दिनुभयो । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तीब्र गतिमा गरिरहेको विकासलाई देख्न नसकेर मोर्चाबन्दी बनेर सरकार ढालेको टिप्पणी गर्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दावी गर्नुभयो । माधव नेपालप्रति इंगित गर्दै उहाँले एमालेभित्र रहेका केही हरिया सागहरुले पार्टी सक्काउन खोजेको आरोप पनि लगाउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पाखे्रलले आप्mनो नेतृत्वको सरकारले पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको बताउनुभयो ।

बर्दियाको कार्यक्रम सकेर अध्यक्ष ओली अहिले नेपालगन्जमा एमाले बाँकेले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुनुभएको छ ।
ओलीले आउँदो चुनावमा माधव नेपाल र प्रचण्ड जनता माझ भोट माग्न जानै नसक्ने जिकिर गर्नुभयो ।
‘उनीहरुको आउने चुनावमा भोट माग्न जाने ठाउँ नै छैन, एक अर्काको मुख हेरेर बस्नुपर्ने स्थिती हुनेछ,’ उहाँले भन्नुभयो । यस्तै भेलालाई सम्बोधन गर्दै एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले माओबादी र नेकपा एकिकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताउनुभयो । माधव नेपाल र प्रचण्ड विभाजनका प्रतिक भएको आरोप लगाउँदै उहाँले माओबादीमा रहेका पुराना नेताले प्रचण्डको साथ छाडिसकेको बताउनुभयो ।
वर्तमान सरकारले बनाउने काम भन्दा बनेका कुरालाई भत्काउने काम गरेको उहाँको आरोप छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन एमाले जिल्ला सचिव रत्न खत्रीले गर्नुभएको थियो । कार्यक्रममा एमालेका विभिन्न तहका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
