नेपालगन्ज – बाघ गणनाका लागि बाँके र बर्दिया निकुञ्जमा राखिएको क्यामेरा चोरी भएको हुँदा बाघ गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ तर सोही क्यामरा हराउने गरेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो ।
एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको प्रमुख डा कडरियाले बताउनु भएको छ । ६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको एउटा क्यामेराको मूल्य रु ४० हजार बराबर मुल्य पर्छ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछन् ।
चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने प्रमुख डा कडरियाले जानकारी गराउनुभएको हो । निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी गर्ने सिकारीले क्यामेरा चोरी गरेको प्रमुख डा कडरियाले बताउनुभयो । हाल पहिलो र दोस्रो नम्बर ब्लकको काम सम्पन्न भएको छ । तेस्रो र चौथो नम्बर ब्लकमा काम चालु अवस्थामा समेत रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी गाराउनुभएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो । बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले जानकारी गराउनुभयो ।
