नेपालगन्ज – बाँकेमा वसन्त पञ्चमी पनि भनिने दिनमा विद्याकी देवी सरस्वतीको पूजा गर्नेहरुको चहलपहल बढि रहेको छ । बागेश्वरी मन्दिर, सरस्वती मन्दिर, शिव मन्दिर कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस, बाँकेका सम्पूर्ण कलेज, विद्यालय, ट्यूसन सेन्टर लगायत स्थानहरुमा चहलपहल बढेको छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।
सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आइतबार गरिएको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक र कविलगायतले सरस्वती, किताब, कपी, कलम, वाद्य यन्त्रलगायत साधनको पूजा गरिएको छ ।

सरस्वती पुजाकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ ।
सरस्वती पूजाका अवसरमा लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । कोरोना महामारीका कारण अघिल्लो वर्षमा झैं यस वर्ष पनि काठमाडौू, मैतीदेवी, नील सरस्वतीस्थान लगायतमा आराधना गर्नेको संख्या पातलिएको छ ।
