नेपालगन्ज, – राप्ती नदिबाट नेपालगन्जमा आउने खानेपानी कहिले पुग्ला भन्ने अन्योलमा नेपालगन्जवासी रहेका छन् । नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्तीनदीबाट पानी ल्याउने योजना निर्धारित समय भन्दा निकै ढिलाई भैरहेको छ । पटक पटक म्याद थप्दै आएको खानेपानी सस्थान नेपालगन्जले नेपालगन्जवासीलाई कहिले खुवाउने राप्ती नदिको पानी कहिले पुग्ला भन्ने अन्योलमा रहेका छन् ।
अहिले नेपालगन्जवासीलाई खानेपानी संस्थान होस् वा व्यक्तिका घर वा व्यवसाय पानीका लागि भूमिगत स्रोतकै प्रयोग हुँदै आएको छ । हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ । यसलाई अझ प्रभावकारी माध्यमका साथ नदिकै पानी प्रशोधित गरि दैनिक २ करोड लिटर पानी सहज उपलब्ध गराउन सक्ने गरि निर्माण कार्य भैरहेको खानेपानी संस्थान नेपालगन्जले जनाएको छ । राप्तीबाट पानी प्रशोधन गरी ल्याउने योजना २०७३ साल असारमै सुरु भएको थियोे । तर, योजनाको औपचारिक रुपमा २०७४ सालमा मात्रै सुरु भएको थियो । आयोजना सुरुवात हुँदा २०७६ असारसम्म सक्ने योजना बनाइएको थियो ।
राप्तीबाट खानेपानीका लागि नेपालगन्जसम्म पाइप पु¥याउँदा हुलाकी सडक खन्नुपर्ने देखिन्छ यसमा हामीलाई काम गर्न समय लागेको नेपाल खानेपानी संस्थान नेपालगन्जले जानकारी गराएको छ । ‘काम गर्दै जाँदा आएका अवरोधका कारण आयोजना समयमै सम्पन्न गर्नमा ढिलाई भएको हो’, उहाँले भन्नुभयो । राप्तीको पानी नेपालगन्ज ल्याइपु¥याउन डुडुवामा ट्रष्ट ब्रिज निर्माण गर्नुपर्ने उहाँले बताउनुहुन्छ । कुल १६/१७ किलोमिटर मध्ये साढे ८ किलोमिटर पाइप विछ्याउने कार्य सम्पन्न भएको हो । पाइप विछ्याउँदा सडकसँगै पाइप विछ्याउने क्षेत्रमा परेका घर तथा नालाका कारण पनि पाइप विछ्याउन अवरोध सिर्जना भएको थियो ।

२० बर्षका लागि अघि सारिएको खानेपानी योजना सम्पन्न भएपछि माग अनुसार पानी ल्याउँदै जाने संस्थानले बताएको छ । ३० करोड ६२ लाखको खानेपानी योजनाका लागि २५ करोड पाइप खरिदका लागि थियो । हालसम्म १७ करोड खर्च भैसकेको संस्थान बताउँछ । नेपाल खानेपानी संस्थान नेपालगन्जले नियमित काम अघि बढे ३ महिनाभित्रै राप्तीको पानी नेपालगन्ज ल्याइपुर्याउने दाबी गर्नुहुन्छ ।
राप्तीनदीबाट पानी नेपालगन्जसम्म २० इन्च पाइपबाट १६ किलोमिटर राप्तीपथ हुँदै खानेपानी मेन लाइन बिस्तार गर्ने योजना रहेको छ । राप्तीनदीबाट ल्याइने पानी नेपालगन्जमा रहेका खानेपानीका ट्यांकीमा पुर्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ । उक्त योजना सम्पन्न भएपछि दैनिक २ करोड लिटर पानी सहज उपलब्ध हुन सक्ने विश्वास गरिएको छ । संस्थानबाट मात्र नेपालगन्जमा अहिले ३६ लाख लिटर पानी प्रतिनिधि उपयोग भैरहेको छ । नेपालगन्जमा ४ हजार ५ सय बढीले संस्थानबाट खानेपानीको सेवा लिइरहेका छन् ।

