काठमाडौं । भारतबाट वीरगन्जमा हिम्ड टर्मिनल प्रा.लि.को कार्गो रेल आइपुगेको छ । भारतबाट ९० वटा कन्टेनर सामान लिएर हिम्ड टर्मिनल प्रा.लि.को कार्गो रेल वीरगन्ज आइपुगेको हो । बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
समितिका अनुसार भारतको हल्दियाबाट एक र्याकको कार्गो रेल २० फिट अग्लो र ९० वटा कन्टेनर सामान लिएर आएको छ ।
नेपाल–भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ । असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधन भएको थियो । यससँगै निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।
सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो ।
