नेपालगन्ज : नेपालगन्जमा ताजिया विसर्जन गरिएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उनिहरुले दशौं दिनमा ताजिया विसर्जन गरेका हुन् । मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको मुस्लिम अगुवाहरुले जनाएका छन् । मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगन्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि पुगेका थिए ।
ताजिया विसर्जन भएको दुईदिन पछि हुने विशेष फातियामा गरिब तथा विपन्न समुदायका व्यक्तिहरुलाई खाना पकाएर खुवाउने प्रचलन रहेको मुस्लिम अगुवाहरु बताउछन् । इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४० को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औ दिन विशेष महत्वको हुने गर्दछ ।
मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन रहेको छ । मोहर्रमका आलम राख्ने र विशेष गरी ताजिया राख्ने गरिन्छ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा हजारौं बढीका ताजिया राखिएको अनुमान गरिएको छ । नेपालगन्जको विभिन्न स्थानबाट निस्केको मोहरम जुलुसमा हजारौ मुस्लिम समुदायको भिड थियो । उनिहरू ढोल, लाठी जुलुस लगायतका कला प्रदर्शन गरेका थिए ।
