नेपालगन्ज २० चैत्र चारदिन देखि दशगजा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीहरुका लागि क्वारेन्टाईन बनाईएको छ । बाँकेको सिमानाकामा अलपत्र परेका नेपालीहरुलाई दशगजामै राखिने भएपछि क्वारेन्टाईन निर्माण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित नेपाल–भारत सिमाको दशगजा क्षेत्रमा अलपत्र परेका १८१ जनालाई दशगजा क्षेत्रमै ब्यवस्थापन गरीएको छ ।
क्वारेन्टाइनका लागि नेपाली सेनाले दशगजा क्षेत्रमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा उनिहरुलाई राखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो । भारतबाट फर्किएका नेपालीहरुले जुनसुकै हालतमा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । दुबै देशका नागरिकलाई अहिले रहेकै स्थानमा ब्यवस्थापन गर्ने नेपाल र भारत सरकारबिचको दुईपक्षिय सम्झौता अनुसार उनिहरुकालागि दशगजा क्षेत्रमै क्वारेन्टाईन निर्माण गरीएको उपाध्यायले बताउनुभयो ।

क्वारेन्टाईनमा राखिएका ब्यक्तिको स्वास्थ्य परिक्षण गरी चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखीने उपाध्यायले जानकारी दिनुभयो । निश्चित समयकालागि बहराइच जिल्लाको नानपारामा स्थापना गरिएको भारतीय क्वारेन्टाइनमा राख्ने सहमति भएपनि सिमानाकामा अलपत्र नेपालीहरु त्यहाँ जान नमानेपछि दशगजामै क्वारेन्टाईन निर्माण गरीएको ५ नं. प्रदेशका साँसद तथा नेकपा बाँकेका अध्यक्ष आई पि खरेलले जानकारी दिनुभयो । सिमानाकामा अलपत्र परेका नेपालीहरुको उद्धार तथा ब्यवस्थापनमा सुरुवाती दिनदेखि नै सक्रिय रहँदै आएका खरेलले दशगजामै भएपनि क्वारेन्टाईन निर्माण गरी नेपालीहरुलाई सुरक्षित राख्ने प्रयास गरिएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको पहल तथा नेपाली सेनाको सहयोगमा दशगजास्थित सुख्खा बन्दरगाह क्षेत्रमा अस्थायी क्वारेन्टाईन निर्माण गरीएको नेपालगन्ज उपमहानगरपालिकका उपमेयर उमा थापाले जानकारी दिनुभयो । क्वारेन्टाईनमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन । दशगजामा केही दिन अगाडी भारतीय प्रहरीले राती उनिहरुलाई चोरबाटो हुदै नेपाल भारत सिमानाका जमुनाहा नजिकै छोडेको थियो ।


